इटहरी / नेपाली फिल्म ‘रावायण’को प्रचारप्रसार गतिविधि तीव्र रुपमा भइरहेको छ, र यसलाई यही भदौ २१ गतेबाट देशभर रिलिज गर्ने तयारी गरिएको छ। प्रारम्भिक चरणमा फिल्मको टिमले विशेषगरी कलेजका युवा दर्शकहरूमाझ प्रचार केन्द्रित गरेको छ, जसले गर्दा युवा वर्गमा फिल्मप्रति उच्च उत्साह देखिएको छ।
यसअघि कोशी प्रदेश लगायत विभिन्न प्रदेशमा पोस्टर पब्लिसिटी गरिसकेको फिल्मका निर्देशक सुदर्शन थापा, निर्मात्री तथा नायिका पूजा शर्मा, र कलाकार प्रमोद अग्रहरि र प्रकाश शाह प्रमोसनका लागि विभिन्न कार्यक्रममा व्यस्त छन्। आइतबार फिल्मको टिमले काठमाडौंको टेक्सास कलेजमा विद्यार्थीहरूसँग अन्तरक्रिया गर्यो। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा निर्देशक सुदर्शन थापाले ‘रावायण’को कथा अहिलेको युवापुस्ताका लागि नवीन र आकर्षक हुने दाबी गरे।
उनले भने, ‘रामायण’को कथा रामले अघि बढाएजस्तै, ‘रावायण’को कथा रावणबाट सुरु हुने बताउँदै फिल्मलाई एक नयाँ दृष्टिकोणले प्रस्तुत गरिएको उल्लेख गरे। निर्मात्री पूजा शर्माले दर्शकहरूले आफ्ना अघिल्ला फिल्महरूलाई जस्तै ‘रावायण’लाई पनि मनपराउनेमा आफू ढुक्क रहेको बताइन्। कार्यक्रममा प्रमोद अग्रहरी र प्रकाश शाहले फिल्ममा बोलेका संवादहरू प्रस्तुत गर्दा दर्शकहरूमा तालीको ओइरो लागेको थियो।
सुदर्शन थापा प्रोडक्शन र पूजा शर्मा प्रोडक्शनको संयुक्त निर्माणमा बनेको यो फिल्मका कार्यकारी निर्माता सुशन पाठक हुन्। फिल्ममा प्रमुख भूमिकामा पल शाह, पूजा शर्मा, प्रियंका कार्की लगायतका कलाकारहरूको अभिनय देख्न पाइनेछ। सुदर्शन थापाको कथा, शिवम अधिकारीको लेखन, सौरभ लामाको छायांकन, मिलन श्रेष्ठको सम्पादन र रेवन आरती सिंहको संगीत रहेको यो फिल्मलाई आरआर फिल्मसले वितरण गर्नेछ भने डिजिटल पार्टनरको रुपमा ओएसआर डिजीटल रहेको छ।