विराटनगर / कोशी प्रदेश फुटबल संघले काठमाडौँमा आगामी भदौ १६ गतेदेखि सुरु हुने महिला राष्ट्रिय लिग प्रतियोगितामा सहभागी हुन लागेको कोशी प्रदेशको महिला फुटबल टोलीलाई आज विराटनगरमा एक विशेष कार्यक्रमबीच विदाई गरेको छ। 

विदाई समारोह कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आयोजित गरिएको थियो। कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यमा टोलीलाई आगामी प्रतियोगितामा उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिइएको छ। मुख्यमन्त्री कार्कीले टोलीलाई विदाई गर्दै भने, "यदि कोशी प्रदेशको महिला टोलीले लिगमा प्रथम स्थान हासिल गरेमा, प्रदेश सरकारको तर्फबाट प्रत्येक खेलाडीलाई १ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।" 

मुख्यमन्त्री कार्कीले खेलाडीहरुको भविष्य सुरक्षित बनाउन र उनीहरुलाई चिन्तारहित रूपमा खेल क्षेत्रमा लाग्न सक्ने वातावरण निर्माण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए। 

कार्यक्रममा कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले खेलकुदले प्रदेशको नाम उच्च राख्ने विश्वास व्यक्त गर्दै खेलाडीहरुलाई प्रदेश सरकार र खेलकुद विकास बोर्डबाट सक्दो सहयोग प्रदान गरिने स्पष्ट पारे। 

कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण (पर्शुराम) बस्नेतले बोर्ड र प्रदेश सरकार खेलाडीहरुको जीवन निर्वाहका लागि खेल क्षेत्रमै पर्याप्त अवसर सृजना गर्न लागि परेको जानकारी दिए। उनले असारमा सम्पन्न केन्द्रीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता तथा अन्तर प्रदेश खेलकुद प्रतियोगितामा पदक विजेता २०० भन्दा बढी खेलाडी र प्रशिक्षकलाई नगद सहित सम्मान गरिएको स्मरण गराउँदै आगामी दिनमा पनि उत्कृष्ट खेलाडीलाई सम्मान गर्ने प्रतिवद्धता व्यक्त गरे।

यस अवसरमा कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा प्रथम स्थान हासिल गरी अन्तिम चरणको लिगमा प्रवेश गरेको २५ खेलाडी, ३ प्रशिक्षक, र २ अफिसियललाई विदाई गरिएको जानकारी दिए। संघले खेलाडी र प्रशिक्षकलाई खेलमा आवश्यक पर्ने जर्सी, जुत्ता, झोला लगायतका सामग्री समेत उपलब्ध गराएको थियो।

महिला राष्ट्रिय लिगमा कोशी प्रदेशसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मीका तीन विभागीय टोली, संकटा क्लब, चंद्रपुर नगरपालिका, बागमती नगरपालिका, वालिङ क्लब, कर्णाली प्रदेश, र सुदूर पश्चिम प्रदेश गरी १० टोलीहरु प्रतिस्पर्धा गर्दैछन्। 

कोशी प्रदेशको महिला टोलीले यसपटक उत्कृष्ट प्रदर्शन गर्दै प्रदेशको नाम उचो राख्ने विश्वास गरिएको छ।