इटहरी /  इटहरी उपमहानगरपालिका भ्रष्टाचारको डरलाग्दो चपेटामा परेको आरोप प्रतिनिधिसभामा उठेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोक चौधरीले इटहरी उपमहानगरपालिकामा टेन्डर आव्हानदेखि योजना तर्जुमा गर्दासम्म व्यापक भ्रष्टाचार भएको भन्दै बिहीबारको प्रतिनिधिसभा बैठकमा सरकारको ध्यानाकर्षण गराएका छन्।

विशेष समयमा बोल्दै सांसद चौधरीले इटहरी उपमहानगरले खरिद गरेका चार ठूला विद्युतीय बसमा करिब १ करोड ४० लाख रुपैयाँ घोटाला भएको तथ्य सार्वजनिक गरेका छन्। उनले आपूर्तिकर्तासँग सुरु देखि नै सेटिङ गरेर तेस्रो कम्पनी खडा गरी भ्रष्टाचार गरिएको आरोप लगाए। चौधरीका अनुसार इटहरी उपमहानगरका अधिकारीहरूले सार्वजनिक खरिद प्रक्रियामा पारदर्शिताको अभाव राखी जनताको करको रकम दुरुपयोग गरेका छन्।

चौधरीले यसअगाडि इटहरी उपमहानगरले नगर अस्पतालका लागि आवश्यक पर्ने सिटी स्क्यान मेसिन खरिद प्रक्रियामा पनि ठूला आर्थिक अनियमितता भएको दाबी गरे। उनले ५ करोड पर्ने मेसिनलाई ८ करोड रुपैयाँमा खरिद गर्न सुनियोजित रूपमा एउटा मात्र कम्पनीलाई ठेक्का दिने तयारी भएको बताए। जनदबाबपछि यो टेन्डर रुद्ध गरिएको छ, तर यसले उपमहानगरको प्रशासनिक इमान्दारीमाथि गम्भीर प्रश्न खडा गरेको छ।

यसका साथै, चौधरीले इटहरीमै रहेको शान्ति सिर्जनमा माध्यमिक विद्यालयमा पनि जनप्रतिनिधि र कर्मचारीहरूको मिलेमतोमा ८० लाख रुपैयाँको घोटाला भएको आरोप लगाए। आर्थिक वर्ष २०७९/८० मा शिक्षकको तलब शीर्षकमा विद्यालयलाई ७ लाख ३६ हजार रुपैयाँ मात्र दिनुपर्ने भए पनि उपमहानगरपालिकाले ८८ लाख २४ हजार रुपैयाँ भुक्तानी दिएको चौधरीले बताए। उनले यो रकम विद्यालय प्रशासन, उपमहानगरका कर्मचारी, र जनप्रतिनिधिहरूले मिलेर हिनामिना गरेको आरोप लगाए।

यो प्रकरणले इटहरी उपमहानगरपालिकाको पारदर्शिता र जवाफदेहिता माथि गम्भीर प्रश्न खडा गरेको छ। चौधरीले सरकारलाई तत्कालै यसबारे अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन आग्रह गरेका छन्। साथै, उनले इटहरीका नागरिकलाई पनि भ्रष्टाचारविरुद्ध सशक्त आवाज उठाउन आह्वान गरेका छन्। 

समग्रमा, इटहरी उपमहानगरपालिकामा उठेका यस्ता गम्भीर आरोपहरूले स्थानीय प्रशासन र जनप्रतिनिधिहरूको इमान्दारीता तथा पारदर्शिता प्रति जनतामा असन्तुष्टि र अविश्वास बढाएको छ। अब हेर्न बाँकी छ, सरकार र सम्बन्धित निकायले यसबारे के कदम चालेको छ।