विराटनगर / कोशी प्रदेश सरकारले कडा रोगबाट पीडित बिरामीहरूलाई कुल पाँच करोड रुपैयाँ आर्थिक सहायता वितरण गरेको छ। विगत एक वर्षमा पाँच सय बिरामीले यो सहायता प्राप्त गरेका छन्।

कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. रविन्द्र निरौलाका अनुसार, आर्थिक वर्ष २०८०/८१ मा दुई हजार सात सय बिरामीले मन्त्रालयमा आर्थिक सहायता प्राप्त गर्न निवेदन दिएका थिए। तीमध्ये बजेटको अभावका कारण क्यान्सर, मृगौला, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इञ्जुरी, हेड इञ्जुरी, र सिकलसेल एनिमियालगायतका पाँच सय बिरामीलाई मात्र प्रति व्यक्ति एक लाख रुपैयाँका दरले सहायता वितरण गरिएको हो।

सूचना अधिकारीका अनुसार, "निवेदन धेरै परेको थियो, तर बजेट थोरै भएकाले सुरुमा निवेदन दिनेले मात्र सहायता पाएका छन्। अझै दुई हजार दुई सय निवेदकले सहयोग रकम पाउन बाँकी छ।" उनले चालू आर्थिक वर्षमा पनि पाँच करोड रुपैयाँ नै बजेट बिनियोजन गरिएको जानकारी दिए।

कडा रोगीहरूको लागि विनियोजित रकम वितरण गर्न प्रदेश सरकारले नयाँ कार्यविधि पारित गरेको छ। यस कार्यविधि अनुसार अबदेखि बिरामीहरूले मन्त्रालयबाट होइन, अस्पतालबाटै उपचारको रकम शोधभर्ना पाउने व्यवस्था छ। तर नयाँ कार्यविधि अझै कार्यान्वयनमा आइसकेको छैन। 

डा. निरौलाले भने, "नयाँ कार्यविधि बनिसकेको छ, तर कार्यान्वयन हुन बाँकी छ। पुरानो कार्यविधि निस्क्रिय भइसकेको छ, त्यसैले पुराना निवेदकहरूले मन्त्रालयमा फोन गरेर सोधिरहनु भएको छ। उहाँहरूलाई रकम वितरण गर्न प्रदेश सरकारले कार्यविधि परिमार्जन गर्न छलफल सुरु गरेको छ।"

उनले २०८० चैतदेखि मन्त्रालयले नयाँ निवेदन लिने काम बन्द गरिसकेको जानकारी पनि दिए। प्रदेशमा कडा रोगबाट पीडित बिरामीहरूलाई पहिलोपटक २०७९/८० को असारमा सात जनालाई सहायता वितरण गरिएको थियो।