इटहरी / नबिल बैङ्कको तरहरा शाखाले प्रतिनिधिसभा सदस्य अशोक कुमार चौधरीलाई ऋण भुक्तानी गर्न ३५ दिने समयसीमा तोकेको छ। बैंकले गत भदौ ६ गते कारोबार दैनिकमा सूचना प्रकाशित गर्दै, यदि तोकिएको समयभित्र उनले ऋणको साँवा, ब्याज, हर्जाना ब्याज तथा अन्य दस्तुर नतिरेमा उनलाई कालोसूचीमा राखिने चेतावनी दिएको छ। 

बैङ्कका अनुसार, चौधरीले मौखिक र लिखित जानकारी प्राप्त गरिसकेपछि पनि ऋण भुक्तानी नगरेको उल्लेख छ। सूचना अनुसार, उनले असोज १० भित्र बाँकी सम्पूर्ण रकम नतिरेमा बैंकले धितो जफत गर्ने र ऋण असुलउपर गर्न कानूनी प्रक्रिया अनुसार जमानतमा राखिएको चल-अचल सम्पत्ति बेचबिखन गर्ने तयारी गरेको छ। साथै, जमानतकर्तालाई पनि कालोसूचीमा राख्ने चेतावनी दिइएको छ। 

चौधरीले इटहरी–५ स्थित "आयुष एण्ड अजेश ट्रेडर्स" को मालिकको रूपमा ऋण लिएका थिए। उनले जमानतमा आफ्नै श्रीमतीलाई राखेका छन् र इटहरी ५ स्थित कित्ता नम्बर १९६५ को १५ कठ्ठा जग्गा धितोमा राखेका थिए। बैंकले ऋणको सटीक रकम खुलाउन नमिल्ने बताएको छ। 

तरहरा शाखाका ब्रान्च म्यानेजर अनीश ओझाका अनुसार, भदौ २५ सम्म चौधरीले कुनै पनि किस्ता तिरेका छैनन्। समयसीमाभित्र उनले ऋण नतिरेमा धितो जफत गरी कानूनी प्रक्रिया अनुसार कदम चालिने कुरा ओझाले स्पष्ट पारेका छन्।