इटहरी / नगर बाल सञ्चाल इटहरीद्वारा अन्तर वडा स्तरीय बाल गायन प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । बालबालिकाको गायन प्रतिभा विकास र प्रोत्साहन गर्ने उद्देश्यले आयोजित प्रतियोगिता नगर बाल सञ्चाल इटहरीकी अध्यक्ष विभूति काफ्लेको अध्यक्षतामा सम्पन्न भएको हो।
इटहरीका १८ वटै वडाका बाल प्रतिनिधिहरूको सहभागिता रहेको प्रतियोगितामा स्वर, प्रस्तुति, र अभ्यासका आधारमा सहभागीहरूको छनोट गरिएको निर्णायक सुबास बनले जानकारी दिनुभयो। निर्णायक मण्डलमा इटहरी उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख दोर्ण दाहाल, तारा ढकाल र सुबास बनको उपस्थिति थियो।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने ५ जनालाई छनोट गरिएर प्रथम, द्वितीय र तृतीय स्थान प्रदान गरिने छ। उनीहरूलाई शनिबार, भदौ २९ गते बाल दिवसका अवसरमा नगद, प्रमाणपत्र र पुरस्कार वितरण गरिने कार्यक्रम छ।
नगर बाल सञ्चालकी अध्यक्ष विभूति काफ्लेका अनुसार यस प्रतियोगिताले बालबालिकाको क्षमता विकासमा महत्वपूर्ण भूमिका खेल्नेछ र उनीहरूको गायन यात्रा सफल बनाउन सहयोग पुर्याउनेछ। कार्यक्रमको आयोजनामा सामाजिक विकास महाशाखाका बालबालिका भोकल पर्सन नेत्र प्रसाद न्यौपानेको पनि उपस्थिति थियो।
नगर बाल सञ्चाल इटहरीले बालमैत्री नगर घोषणा गर्ने उद्देश्यका साथ हाजिरीजवाफ प्रतियोगिता, चित्रकला प्रतियोगिता, सामाजिक कार्य, सरसफाइ जस्ता कार्यक्रमहरू गर्दै आएको छ। यो प्रतियोगिता इटहरी उपमहानगरपालिकाको समन्वयमा YDC भवनमा सम्पन्न भएको थियो।