इटहरी। मोरङको रंगेली नगरपालिकाले बृद्धि गरेको करको दर घटाउन सर्वदलीय बैठकमा सहमति बनेपछि जारी आन्दोलन स्थगित भएको छ। नगरपालिकाले बृद्धि गरेको करले जनता मर्कामा पर्ने जनाउँदै नेपाली कांग्रेस रङ्गेलीले विगत एकसातादेखि आन्दोलन गर्दै आएको थियो। नेपाली कांग्रेस मोरङका सचिव मोदराज घिमिरेका अनुसार शनिबार कांग्रेस, एमालेका पदाधिकारी र नगरपालिकाका मेयर र उपमेयरको सहभागितामा बसेको छलफलमा सहमति बनेको हो। छलफलमा नगरसभाले बनाएको आर्थिक ऐन २०८१ मा केही संशोधन गरी नगरपालिकाले लगाएका करका दर घटाउन सहमति बनेको सचिव घिमिरेले जानकारी दिए। सर्वदलीय बैठकबाट स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम राजश्व परामर्श समिति, नगरपालिका बैठक हुदै विशेष नगरसभाद्धारा दुई दलबीच भएका सहमतिलाई कानून बमोजिम हुने गरि पारित गर्ने र जारी आन्दोलन फिर्ता लिने सहमति बनेको उनले जानकारी दिए। बैठकमा नगरपालिकाका मेयर दिलिप बगडिया र उपमेयर भूमाकुमारी पराजुलीपनि रहेका थिए। बैठकमा कांग्रेसका कार्यवहाक सभापति भक्तिनाथ माझी, उपसभापति नागेश कोइराला, सचिव घिमिरे, नेकपा एमालेतर्फबाट जिल्ला अध्यक्ष बाबुराम कार्की, सचिव रविन थापाबीच लामो छलफलपछि सहमति बनेको थियो। आन्दोलनका कारण नगरपालिकाको दैनिक कामकाज समेत प्रभावित हुँदै आएको थियो।
आन्दोलनलाई फिर्ता गराउन र सहमति खोज्ने क्रममा आन्दोलनरत कांग्रेससंग नगरपालिकाले केहीचरणमा वार्ता र संवाद गरेकोपनि सहमति भने जुट्न सकेको थिएन्। स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ५४ र ५५ बमोजिम कानूनले निर्दिष्ट गरेका विषयमा नगरपालिकाले कर लगाँउदा जनताको जीवनस्तर र आर्थिक मन्दीका कारण कर तिर्न समस्या हुने जनाउँदै कांग्रेसले आन्दोलन गरेको थियो।


