संखुवासभा / भाद्र २९ गते खाँदबारीमा ६०औं राष्ट्रिय बाल दिवस २०८१ को अवसरमा बाल क्लबहरूबीच "बालमैत्री स्थानीय शासनमा बालबालिकाको भूमिका" विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको थियो। यस कार्यक्रमको आयोजना माट्स नेपालले गरेको थियो भने खाँदबारी नगरपालिकाले प्रायोजन गरेको थियो। खाँदबारी नगरपालिकाका उपप्रमुख महेश्वरा श्रेष्ठ बज्राचार्य प्रमुख अतिथि हुनुहुन्थ्यो।

प्रतियोगितामा खाँदबारीका ९ बाल क्लबहरूको सहभागिता रहेको थियो। विजेताहरूमा हिमालय बाल क्लब खाँदबारी १ का सौजन कट्टेल प्रथम, आदर्श विद्यामन्दिर बाल क्लब पाठकगाउँका रिकेश कार्की द्वितीय, र आदर्श बाल क्लब पिप्लेका सीता तामाङ तृतीय स्थान हासिल गर्न सफल भए। प्रथम, द्वितीय, र तृतीय विजेतालाई क्रमशः ३,०००/-, २,५००/- र २,०००/- नगद सहित प्रमाणपत्रले पुरस्कृत गरिएको थियो।

कार्यक्रम संस्थाका अध्यक्ष नवीन दाहालको सभापतित्वमा सम्पन्न भएको थियो। सोही कार्यक्रममा खाँदबारीका युवा व्यवसायी राजमणी भण्डारीले बाल हेल्पलाइन सेवा १०९८ संखुवासभालाई आपतकालीन उद्धार तथा राहतमा सहयोग पुगोस् भनी बालबालिकाका लागि लत्ताकपडा हस्तान्तरण गर्नुभएको थियो। कार्यक्रमको प्रत्यक्ष प्रसारण फेसबुक तथा युट्युबबाट गरिएको थियो, जहाँ बाल हेल्पलाइन प्रमुख सुजन अधिकारीले कार्यक्रमको औचित्यताबारे प्रस्ट्याउनुभएको थियो। कार्यक्रम सञ्चालन संस्थाका सदस्य सुरेन शाक्यले गर्नुभएको थियो।