इटहरी / इटहरी उपमहानगरपालिकाले सर्वसाधारण नागरिकलाई सहज, सुरक्षित, र सुलभ सार्वजनिक यातायात सेवा प्रदान गर्ने उद्देश्यले असोज २ गतेदेखि विद्युतिय नगर बस सेवा सुरु गर्ने भएको छ। प्रारम्भिक चरणमा ४ वटा विद्युतीय बसहरू नगरका विभिन्न रुटहरूमा सञ्चालनमा ल्याइनेछन्।
इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले पत्रकार सम्मेलन गर्दै नगर बस सञ्चालनमा आउने जानकारी दिनु भएको हो । सडक सञ्जाल विस्तार भए पनि इटहरीका सबै क्षेत्रमा सार्वजनिक यातायात नियमित रूपमा उपलब्ध नभएको अवस्थामा, नगरपालिकाले यस कदमलाई नागरिकहरूको यात्रालाई सुविधाजनक बनाउने प्रयासको रूपमा लिएको छ। विद्युतीय बस सेवा वातावरणमैत्री, सुरक्षित, भरपर्दो, र उपभोक्तामुखी हुने बताइएको छ ।
नागरिकलाई सहुलियतपूर्ण ढंगमा सेवा उपलब्ध गराउन बसको सेवा शुल्क रू. २० तोकिएको छ। भोलि असोज १ गते विश्वकर्मा पुजा गरेर बिहान ७ बजेबाट ११ बजेसम्म र दिउँसो २ बजेदेखि बेलुकी ७ बजेसम्म नियमित सञ्चालन हुनेछन्।
धरान-विराटनगर सडकमा तरहरादेखि वडा नं. १३ को अरिहन्त मल्टिफाइवर्ससम्म, पूर्व–पश्चिम सडकमा बुढी खोला (मिलन चोक) देखि लगुना चोक बिजुली अफिससम्म, इटहरीबाट साथी फ्यूल, वडा नं. १० टावर हुँदै वडा नं. ११ खेटीपुल, नहरको बाटो हुँदै इटहरी, इटहरीबाट तरहरा, भवानीपुर, कान्छी चोक, पकली हुँदै इटहरी, इटहरीबाट तालतलैया, त्रिभुवन चोक, देविस्थान हुँदै पुनः त्रिभुवन चोक, हवाई चोक, आँपगाछी हुँदै इटहरी , इटहरीबाट लविपुर, वडा नं. १६, वडा नं. १५ को चाँदवेला सीमाना हुँदै वडा नं. १७ कार्यालय र कान्छी चोक हुँदै इटहरी बस सेवा निम्न रुटहरूमा सञ्चालन हुने छ ।
इटहरी उपमहानगरपालिकाले यस नगर बस सेवाले नागरिकहरूको दैनिक यात्रा थप सहज र सुविधाजनक बनाउने विश्वास लिएको इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले बताउनुभयो ।
विद्युतीय बसहरूले वातावरणमा सकारात्मक प्रभाव पार्दै सस्तो र भरपर्दो यातायात सेवा उपलब्ध गराउनेछन्। ६ करोड ३६ लाख ८६ हजार ८ सय खर्चिएर इटहरी उपमहानगरपालिकाले चारवटा विद्युतीय बस खरिद गरेको नगरपालिकाले जनाएको छ ।