इटहरी – थारु समुदायको महत्वपूर्ण पर्व ‘जितिया’ को अवसरमा इटहरीमा भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। थारु महिला सभा इटहरी, थारु युवा सभा इटहरी, र ग्रामथान संरक्षण समिति इटहरीको आयोजनामा तथा इटहरी उपमहानगरपालिकाको सहयोगमा यो कार्यक्रम आयोजना गरिएको हो। थारु कल्याणकारिणी सभा नगर कार्यसमिति इटहरी कार्यक्रमको मुख्य आयोजक थियो।
कार्यक्रमको अध्यक्षता थारु कल्याणकारिणी सभा इटहरी उपमहानगर कार्यसमितिका अध्यक्ष लक्ष्मी नारायण चौधरीले गरेका थिए भने प्रमुख अतिथि इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल थिए। कार्यक्रममा थारु समुदायका विभिन्न सांस्कृतिक झलकहरू प्रस्तुत गरिए, जसमा २० वटै वडाका थारु समितिहरूले आफ्नो जातीय पहिचान झल्काउने भेषभूषासहित सहभागीता जनाएका थिए।
कार्यक्रममा थारु समुदायको सांस्कृतिक धरोहरलाई झल्काउने विभिन्न प्रस्तुति देख्न पाइयो। सहभागीहरूले आफ्नो परम्परागत पोशाकमा सजिएर नृत्य, गीत तथा नाटक प्रस्तुत गरेका थिए। विशेषगरी जितिया पर्वको सांस्कृतिक महत्त्वलाई उजागर गर्ने विशेष नाटक पनि प्रस्तुत गरियो, जसले दर्शकहरूको ध्यान खिच्यो।
जितिया पर्वलाई थारु महिलाहरूले आफ्नो सन्तानको दीर्घायु, सुख, शान्ति र समृद्धिको कामना गर्दै तीन दिनसम्म कठोर व्रत बसी मनाउँछन्। यो पर्वलाई संसारकै एक कठिन व्रत पर्व मानिन्छ। थारु समुदायका महिलाहरूले पानी समेत नखाई व्रत बस्ने परम्परा रहिआएको छ। यसले थारु समुदायको सांस्कृतिक परम्परालाई अझै जीवित राख्न मद्दत गरेको छ।
कार्यक्रममा प्रमुख अतिथि मेयर हेमकर्ण पौडेलले थारु समुदायलाई इटहरीको प्रथम जातिका रूपमा सम्मान गरिएको बताउँदै इटहरीको विकासमा थारु समुदायको महत्त्वपूर्ण योगदान रहेको उल्लेख गरे। उनले इटहरीमा थारु जातिको संरक्षणका लागि उपमहानगरपालिकाले निरन्तर सहयोग गर्दै आइरहेको जानकारी दिए। पौडेलले थारु संस्कृति र परम्पराको संरक्षण र प्रवर्द्धनमा अझै बढी काम गर्नुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रममा थारु समुदायका विभिन्न प्रतिनिधिहरूले आफ्नो विचार राखेका थिए। थारु महिला सभा इटहरीकी अध्यक्ष सुनिता चौधरी, ग्रामथान संरक्षण समितिकी अध्यक्ष सावित्रा चौधरी, र थारु युवा सभा इटहरीका अध्यक्ष रोहित चौधरीले आफ्नो मन्तव्य राख्दै थारु समुदायको पहिचान, संस्कृति, र परम्परालाई जीवन्त राख्नका लागि यस्ता कार्यक्रमहरूको महत्त्वपूर्ण योगदान हुने बताए।
थारु कल्याणकारिणी सभा इटहरी उपमहानगर कार्यसमितिका अध्यक्ष लक्ष्मी नारायण चौधरीले जितिया पर्वको महत्त्वबारे चर्चा गर्दै प्रत्येक वर्ष यसरी नै कार्यक्रम गरिने बताउनुभयो। थारु समुदायको पहिचान र परम्परालाई जीवन्त राख्न कार्यक्रमको विशेष महत्त्व रहेको उहाँले जोड दिनुभयो।
यो कार्यक्रम थारु समुदायको सांस्कृतिक जीवनलाई उजागर गर्ने र उनीहरूको परम्परागत मूल्यहरूको संरक्षण गर्ने उद्देश्यका साथ आयोजना गरिएको थियो। उपस्थित दर्शकहरूले पनि कार्यक्रमको प्रशंसा गरेका थिए, जसले थारु समुदायको समृद्ध संस्कृतिलाई अझै सशक्त बनाएको छ।
कार्यक्रममा थारु कल्याणकारिणी सभाका पदाधिकारीहरू, थारु समुदायका नेता, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, र इटहरी उपमहानगरपालिकाका अधिकारीहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रमले इटहरीको सांस्कृतिक विविधता र थारु समुदायको महत्वपूर्ण योगदानलाई मञ्चमा प्रस्तुत गर्न सफल भएको छ।
थारु समुदायको यस्तो सांस्कृतिक कार्यक्रमले उनीहरूको पहिचान मात्र होइन, इटहरीकै समृद्ध सांस्कृतिक धरोहरलाई उजागर गरेको छ।