सिताराम चन्द्रवंशी
बराहक्षेत्र / सुनसरीको बराहक्षेत्र-९ स्थित जय माँ सम्माकाली शिवालय मन्दिर व्यवस्थापन समितिको आयोजनामा जितिया महोत्सव अन्तर्गत भव्य साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको सभापति बराहक्षेत्र नगरपालिकाका प्रमुख भरत मण्डल रहनुभएको थियो भने प्रमुख अतिथि पनि उहाँ स्वयम् थिए। साथै, विशिष्ट अतिथिको रूपमा बराहक्षेत्र-९ का वडा अध्यक्ष निरन्जन मण्डल चन्द्रवंशी तथा अन्य अतिथिहरूमा वडा सदस्यहरू र स्थानीय समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरू उपस्थित थिए।
कार्यक्रममा स्थानीय समाजसेवी, बुद्धिजीवी, र शैक्षिक व्यक्तिहरूको उत्साहजनक उपस्थिति देखिन्थ्यो। विशेषगरी चन्द्रवंशी र कबिरथ महिलाहरूले आर्थिक संकलन र अन्य सहयोगमार्फत कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण योगदान गरेका थिए।
साँस्कृतिक कार्यक्रमको संचालन सन्तोसी कबिरथ र सिताराम चन्द्रवंशीले गरेका थिए। कार्यक्रममा चन्द्रवंशी, कबिरथ, थारु लगायतका समुदायका विभिन्न नृत्य प्रस्तुति देखाइएका थिए। स्थानीय सांस्कृतिक झल्को दिने नृत्य तथा संगीतले कार्यक्रमलाई झन् आकर्षक बनाएको थियो।
दर्शकहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रममा सहभागीहरूले आ-आफ्नो समुदायको सांस्कृतिक सम्पदालाई झल्काउँदै नृत्य प्रदर्शन गरेका थिए। जितिया महोत्सवलाई यस प्रकारको भव्य साँस्कृतिक कार्यक्रमले थप उत्साह र उमंग प्रदान गरेको छ।
यस प्रकारको कार्यक्रमले स्थानीय संस्कृतिको प्रवर्द्धन गर्न मात्र नभई सामुदायिक एकतालाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने आयोजकहरूको विश्वास रहेको छ।


