बराहक्षेत्र / बराहक्षेत्र नगरपालिका वडा स्तरीय प्रथम चौखोला भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ ले जितेको छ। उपाधि जित्दै वडा ३ ले नगद रु २५ हजार, मेडल, ट्रफी, र प्रमाणपत्र हात पारेको छ भने उपविजेता बनेको वडा नम्बर ९ ले नगद रु १५ हजार, मेडल, ट्रफी, र प्रमाणपत्र प्राप्त गर्यो। तृतीय स्थानमा वडा नम्बर ७ रहेको छ, जसले नगद रु १० हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो। चौथो स्थानमा पुगेको वडा नम्बर ८ ले नगद रु २५ सय प्राप्त गर्न सफल भयो।
प्रतियोगितामा व्यक्तिगत प्रदर्शनका आधारमा विशेष पुरस्कारहरू प्रदान गरिएका थिए। वडा नम्बर ९ का प्रताप राई उत्कृष्ट लिब्रो घोषित भए र नगद रु ११०० सहित ट्रफी पाए। वडा ३ का दिनेश खड्का उत्कृष्ट स्पाइकर घोषित भए भने उत्कृष्ट सटरको उपाधि वडा ३ कै देवराज थापाले जिते। दुवै खेलाडीले नगद रु ११०० सहित ट्रफी प्राप्त गरे। त्यस्तै, महत्त्वपूर्ण खेलाडीको रूपमा वडा नम्बर ९ का दिनेश लोहारलाई चयन गरियो, जसले पनि नगद रु ११०० र ट्रफी पाएका छन्।
प्रतियोगिताको फाइनल खेलका अवसरमा चौखोला युवा क्लबका अध्यक्ष दिपक राई सभापतिको रूपमा रहेका थिए भने प्रमुख अतिथि बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्की थिए। अन्य विशिष्ट अतिथिहरूमा उप्रेन्द्र व. कट्वाल, सुमन बस्नेत, दिपक लिम्बू, असिस राई लगायत विभिन्न सामाजिक व्यक्तित्वहरूको उपस्थिति थियो।
खेलकुदमा रुचि राख्ने स्थानीयहरू, वडा सदस्यहरू, सुरक्षा निकायका प्रतिनिधिहरू, र अन्य सामाजिक कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको फाइनल खेललाई स्वागत नृत्यले विशेष आकर्षण प्रदान गरेको थियो।
मुख्य प्रायोजकका रूपमा बराहक्षेत्र वडा नम्बर ९ र सह-प्रायोजकका रूपमा वडा नम्बर ८ तथा बराहक्षेत्र नगर खेलकुद विकास समिति रहेका थिए। आयोजकका अध्यक्ष दिपक राईले सम्पूर्ण सहयोगी दाताहरूलाई कदर पत्र प्रदान गर्दै सम्मानित गरिएको जानकारी दिए।
प्रतियोगिताका सचीव मौसम राईले यस प्रतियोगिताले स्थानीय युवाहरूलाई खेलकुदको माध्यमबाट अनुशासन, नेतृत्व विकास, र सहकार्यको भावना जगाउने लक्ष्य लिएको बताए।
बराहक्षेत्र नगरपालिकामा यस किसिमको खेलकुद गतिविधिले युवाहरूलाई सकारात्मक दिशामा प्रेरित गर्ने विश्वास आयोजकको रहेको छ।