धरानका मेयर हर्क साम्पाङले वडा नम्बर ११ का वडाध्यक्षलाई लोकेन्द्रकुमार फागोलाई दिएको कार्यवाहकको जिम्मेवारी कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले अल्पकालीन आदेश दिएको छ । धरानका उप मेयर आइन्द्र विक्रम बेघाले उच्च अदालत विराटनगरमा दायर गरेको रिटमा सुनुवाइ गर्दै उच्च अदालत विराटनगर अल्पकालीन अन्तरिम आदेश दिएको हो । । न्यायधिस ध्रुवराज नन्दको इजलासले धरानका मेयर हर्क साम्पाङले दिएको कार्यवाहक मेयरको जिम्मेवारी कार्यान्वयनमा नगर्न आदेश दिएको हो।
मेयर साम्पाङले उप मेयर कार्यकक्षमा रहँदा रहँदै नाताले मामा ससुरा पर्ने वडा अध्यक्ष फागोलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएर बेलायत गएका थिए । उनले वडाध्यक्षलाई कावा तोकेसँगै कार्त्तिक ४ गते उप मेयर आइन्द्र विक्रम बेघा अदालत गएका थिए ।
आदेशमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १६ को कार्य विभाजन सम्बन्धी व्यवस्था अन्तर्गतको उपदफा (४) को देहाय (क) को देहाय (१२) ले गरेको व्यवस्था र धरान नगर कार्यपालिका कार्य विभाजन नियमावली, २०७४ को अनुसूची ४ मा काम, कर्तव्य र अधिकार सम्बन्धमा भएको व्यवस्था एवं सुविधा सन्तुलनको दृष्टिकोणबाट समेत उल्लेखित अन्तरिम आदेश सम्बन्धी छलफल पेसीका दिन सम्मको लागि धरान उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयबाट लेखिएको च नं २३२८ मिति २०८१र ६र २३ को पत्र कार्यान्वयन नगरी यथास्थितिमा राख्नु भनी विपक्षीहरूका नाममा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको उल्लेख छ ।


