इटहरी । कार्तिक १५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘पुर्ण बहादुरको सारंगी’ को प्रचार प्रसारात्मक साङ्गीतिक कार्यक्रम इटहरी र धरानमा शनिबार सम्पन्न गरिएको छ । फिल्मका प्रमुख कलाकारहरू विजय बराल, मुकुन भुषाल र अन्जना बराइली सहित गायक तथा संगीतकार प्रशान्त सिवाकोटी र सारंगी बाधक बिराज गन्दर्भको उपस्थिति रहेको थियो । मन्डला नाटकघरको जुनकिरी ट्रकको स्टेजमा इटहरीको संगीत चोकमा साङ्गीतिक कार्यक्रम सहित फिल्मको प्रचारप्रसार गरिएको थियो । प्रचारप्रसार कार्यक्रममा फिल्मका गायक प्रशान्त सिवाकोटीले फिल्मका गीतहरू प्रस्तुत गरे भने सारंगी बाधक बिराजले सारंगीमा र्याप प्रस्तुत गर्नुभयो । यस्तै इटहरीका युवा कलाकारहरूले बुवा र छोराको भावनात्मक नाटक मञ्चन गरे भने गायक सुरेश कार्कीले आफ्नो ‘रेश्मा’ गीत गाएर उपस्थितलाई रमाइलो गराउनुभएको थियो । फिल्मका कलाकारहरूले फिल्मको ट्रेलरमा रहेका संवादहरू प्रस्तुत गरे भने इटहरीवासीलाई फिल्म हेर्न आग्रह गर्दै कार्यक्रम सम्पन्न गरियो । कार्यक्रममा इटहरी आसपासका २ सय बढी मनिसहरुको उपस्थिती रहेको थियो ।