इटहरी । मोरङको पथरी शनिश्चरे वडा नम्बर १ जाँते मोडस्थित पथरी रङ्गशालामा  यही कार्तिक ८ गतेदेखि १४ गतेसम्म प्रथम वडाध्यक्ष भेट्रान्स  पथरी शनिश्चरे गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । मङ्गलबार पथरी रङ्गशालामा आयोजित पत्रकार सम्मेलन मार्फत पथरी शनिश्चरे भेट्रान्स फुटबल क्लबका उपाध्यक्ष प्रतीत सुब्बाले सोको जानकारी दिनुभएको हो ।“  स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद“ भन्ने  मुख्य नाराका साथ आयोजना हुन गइरहेको सो प्रतियोगिताको लागि सम्पूर्ण तयारी पूरा भएको र खेल तालिका समेत सार्वजनिक गरिसकिएको पनि उहाँले बताउनुभयो । सो प्रतियोगितामा झापा र मोरङका उत्कृष्ट ८ वटा भेट्रान्स फुटबल क्लबहरूले सहभागिता जनाउनेछन् । प्रतियोगिताको मुख्य सहयोगी पथरी शनिश्चरे वडा नम्बर  १ को कार्यालय रहेको छ भने प्रथम पुरस्कारको  मुख्य प्रायोजक पथरी शनिश्चरे वडा नं १ स्थित बिराज राजा कल्यांण समाज नेपालका संरक्षक योगेन्द्र मान कार्की तथा अध्यक्ष–बिराज राजा कार्की रहेका छन् । प्रतियोगिताको पहिलो विजेता टिमले प्रथम पुरस्कार ट्रफी सहित नगद १ लाख १ हजार रुपैयाँ  प्राप्त गर्नेछ भने  उप विजेता टिमलाई  ५५ हजार नगद सहित ट्रफी प्रदान गरिने उपाध्यक्ष लिम्बूले बताउनुभयो । प्रतियोगिताको प्रत्येक खेलमा’ भेट्रान अफ दि म्याच’  घोषणा गरी  खेलाडीलाई पुरस्कृत गरिनेछ ।  प्रतियोगिताको फाइनलमा विभिन्न विधागत पुरस्कारहरु  समेत प्रदान गरिनेछ । सोही अवसरमा पथरी शनिश्चरे नगरपालिकाका खेलकुद विकास समितिका संयोजक दीपक राई, आयोजक पथरी शनिश्चरे  भेट्रान्स फुटबल क्लबका पदाधिकारीहरु एवंम् खेलप्रेमी महानुभावहरूको पनि उपस्थिति रहेको थियो ।