इटहरी । धनकुटाको हिलेमा बृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ । आगामी तीन महिना भित्रमा हुन लागेको तेस्रो राष्ट्रिय खुल्ला व्याडमिन्टन प्रतियोगिताको सहयोगार्थ हिले व्याडमिन्टन क्लबले बृहत सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको हो। बिहीबार क्लबले पत्रकार सम्मेलनको आयोजना गरेर आगामी कार्तिक १४ गते सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागिएको जानकारी दिएको हो । सांस्कृतिक कार्यक्रममा राष्ट्रियस्तरका बहुचर्चित कलाकार तथा स्थानीय कलाकारको प्रस्तुति रहने आयोजक हिले व्याडमिन्टन क्लबका अध्यक्ष आशिष तामाङले जानकारी दिनुभयो । तेस्रो राष्ट्रिय खुल्ला व्याडमिन्टन प्रतियोगिताको लागि करिब २० लाख खर्च हुने अनुमान रहेको र त्यसका लागि सांस्कतिक कार्यक्रम सँगै अन्य सहयोग संकलनको काम भइरहेको क्लबले जनाएको छ । वि. स. २०७३ साल फागुन ३ गते स्थापना भएको हिले व्याडमिन्टन क्लब विभिन्न सामाजिक कामहरु गर्दै आएको छ । क्लबले हिलेमा कर्बड हल निर्माण, हरेक वर्ष रक्तदान, स्वास्थ्य शिविर, हिलेमा सडक बत्ती र सिसि क्यामेरा जडान लगायतका काम गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।