इटहरी । गत महिना परेको अविरल बर्षाका कारणका डुवानमा परेका बराहक्षेत्र नगरपालिका वडा नं.–६ का ४६ घरधुरी बाढीपीडितलाई लायन्स क्लबले राहत वितरण गरेको छ । बराहक्षेत्र नगरपालिका वडा नं.–६ का वडा अध्यक्ष उद्वब प्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा लायन्स इन्टरनेसनल डिष्ट्रिक ३२५ सी का डिस्ट्रिक गभर्नर बिकास अधिकारीको अध्यक्षतामा उक्त राहत सामाग्री वितरण गरिएको हो । राहत वितरण कार्यक्रममा लायन्स इन्टरनेसनल डिष्ट्रिक ३२५ सीका लायन्स नेताहरू सहित स्थानीय लायन्स क्लब अफ सप्तकोसी डायनामिकका लायन्सकर्मीहरूको उपस्थिति रहेको थियो । प्राकृतिक विपत्तिका बेला लायन्स इन्टरनेसनलले पठाएको राहत सामाग्री स्थानीय लायन्स क्लब अफ सप्तकोसी डायनामिकले डिष्ट्रिक संग समन्वय गरि ल्याइएको र वितरण गरिएको डिष्ट्रिक गभर्नर बिकास अधिकारीले बताउनुभयो । कार्यक्रममा बोल्दै उक्त वडाका वडा अध्यक्ष उद्वब प्रसाद पोखरेलले लायन्स क्लबले दिएको सहयोग प्रति कृतज्ञता व्यक्त गर्दै सीमित मात्रामा आएको सामान आफ्नो वडामा वितरण भएकोमा खुसी व्यक्त गर्दै आगामी दिनहरूमा पनि यस किसिमका सहयोगहरू आएका बखत आफु आवश्यक सहयोग र समन्वयका लागि सदैब तयार रहेको बताउनुभयो । उक्त राहत प्याकेजमा प्रति परिवार खाध्यान , लत्ताकपडा , भाडाकुडा, प्राथमिक उपचारको सामाग्री लगायत रहेको डिष्ट्रिक गभर्नर अधिकारीले जानकारी दिनुभयो । लायन्स क्लबले विभिन्न समयमा सामाजिक तथा मानवीय सेवाका कार्यहरू निरन्तर गरिरहेको र निकट भविष्यमा पनि निरन्तर यस्ता कार्यहरूमा लागि परिरहने लायन्स क्लब अफ सप्तकोसी डायनामिकका अध्यक्ष सुजित कुमार रायले बताउनुभयो ।