इटहरी । चौबिसे गाउँपालिकामा गत बर्ष देखि शुरु भएको अन्तराष्ट्रिय आमन्त्रण हाम्रो राजारानी पुरुष भेट्रान फुटवल प्रतियोगिताको दोस्रो संस्करण आउने कार्तिक २७ गतेबाट शुरु हुनेभएको छ । आयोजक संस्था हाम्रो राजारानी भेट्रान राजारानी धनकुटाले पत्रकार सम्मेलन गरेर खेल तालिका सार्वजनिक गरेको हो । स्वर्गीय ज्ञानबहादुर र बुद्धिमायाँ लिम्बूको स्मृतिमा सञ्चालन हुने प्रतियोगितामा नेपाल भारत र यू.के.स्थित भेट्रान फुटबल क्लव सहित टिमको सहभागीता रहनेछ । चौबिसे गाउँपालिकाको संरक्षण तथा गोरखा ब्रुअरीको मुख्य प्रायोजनमा सम्पन्न हुन लागेको उक्त प्रतियोगितामा ३२ लाख बराबरको अनुमानित खर्च हुने आयोजकको अनुमान छ । खेल सँगै पर्यटन प्रवद्धन गर्ने उदेश्यले कार्यक्रमको आयोजना गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष बिजु राईले जानकारी दिनुभयो । ४० बर्ष माथिका खेलाडी सहभागी रहने उक्त खेलमा विजेता टोलीले नगद एक लाख २४ हजार २४ रुपैया र उप–बिजेताले ६४ हजार २४ रुपैया सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछ । पत्रकार सम्मेलनमा हाल यूकेमा रहेका पूर्वफुटवल खेलाडी तथा भूतपूर्व सैनिक स्थानीय लोकबहादुर चेम्जोङ्गले यूके स्थित विभिन्न ब्यक्तिहरुबाट खेलका लागि संकलित दुई लाख पाँच हजार नगद रकम आयोजकलाई हस्तान्तण गर्नुभएको थियो। प्रतियोगितको हरेक खेलमा म्यान अफ द म्याच र विधागत पुरस्कारको व्यवस्था गरिएको छ । भेट्रान तर्फ प्रदेशकै ठुलो प्रतियोगिता भएको आयोजकको दावी छ । खेलसँगै गाउँपालिकाको पर्यटन प्रवद्र्धनका लागि स्थानीय स्तरमा उत्पादित खानाहरुको परिकार, विभिन्न जातिय भेषभुषाहरुको फेसन–सो र स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ । जीवनको उत्तरार्धमा पनि खेलको माध्यमबाट स्वस्थ्य रहन सहयोग पुर्याउने यस प्रतियोगितामा आफ्नो संधै सहयोग रहने भन्दै चौबिसे गाउँपालिका अध्यक्ष राजकुमार चेम्जोङ्गले खेल सफलताको शुभकामना दिनुभयो ।


