भोजपुर / नेकपा (एमाले) भोजपुरको पौवादुङमा गाउँ कमिटीले आफ्नो दोस्रो अधिवेशन भव्य रुपमा सम्पन्न गरेको छ। यस अधिवेशनमा स्थानीय तहको नेतृत्वलाई सबल बनाउने उद्देश्यका साथ ४५ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ।

अधिवेशनले सर्वसम्मत रुपमा देउमान राईलाई अध्यक्षमा चयन गरेको छ। अध्यक्षमा चयन भएका देउमान राईको नेतृत्वमा गठित नयाँ कमिटीमा पवित्रा भुजेल उपाध्यक्ष, कुसल कार्की सचिव तथा वर्तमान राई र सरस्वती सुवेदी श्रेष्ठ उपसचिव रहेका छन्। साथै, लेखा आयोग संयोजकको भूमिकामा बोम प्रसाद राई चयन भएका छन्। अधिवेशनले विभिन्न जिम्मेवारीमा ४५ सदस्यीय टोलीको चयन गर्दै पार्टी संगठनको आगामी योजनालाई कार्यान्वयन गर्ने तयारी गरेको छ।

पौवादुङमा गाउँ कमिटीको अधिवेशन नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। अधिवेशनको अध्यक्षता पौवादुङमा गाउँ कमिटीका अध्यक्ष ज्ञानेन्द्र राईले गरेका थिए। प्रमुख अतिथि शेरधन राईले पार्टीको सुदृढीकरण, स्थानीय नेतृत्वको प्रभावकारिता, तथा जनताको सेवामा क्रियाशील रहनुपर्ने विषयमा सम्बोधन गर्दै पार्टी सदस्यहरूलाई प्रेरित गरे।

अधिवेशनको दौरान, नेकपा एमालेका केन्द्रीय सदस्य तथा भोजपुर जिल्ला इन्चार्ज प्रशुराम अधिकारीले स्थानीय कमिटीलाई जनताको आवाजको प्रतिनिधित्व गर्न र पार्टीको एजेन्डालाई अघि बढाउन निर्देशन दिए। त्यस्तै, भोजपुर ‘ख’ इन्चार्ज हरिबहादुर राई र कोशी प्रदेश कमिटीका सचिवालय सदस्य सुरेन्द्र उदासले समेत शुभकामना मन्तव्य राखे।

कार्यक्रममा कोशी प्रदेश राज्यमन्त्री सिर्जना राई, भोजपुर जिल्ला कमिटी अध्यक्ष मक्कर खड्का, पौवादुङमा गाउँपालिका अध्यक्ष तथा एमाले जिल्ला उपाध्यक्ष किरण राई, तथा एमाले जिल्ला कमिटी सचिवालय सदस्य ज्योत्सना राई लगायतका नेताहरूको उपस्थिति रहेको थियो। यी नेताहरूले पनि कार्यसमितिलाई पार्टीको नीति तथा योजनामा समर्पित भएर काम गर्न प्रेरित गरे ।

जिल्ला कमिटी अध्यक्ष मक्कर खड्काले भोजपुर जिल्लाका नौ वटा स्थानीय तहहरूमध्ये एक नगरपालिका र पाँचवटा गाउँ कमिटीको अधिवेशन सम्पन्न भएको जानकारी दिए। अधिवेशनले पार्टीको सांगठनिक संरचनालाई अझै सुदृढ बनाउने र आगामी निर्वाचनमा पार्टीलाई विजयी बनाउन आवश्यक योजनाहरूलाई समेत समेटेको छ।

यस अधिवेशनमा एमाले प्रदेश कमिटीका सदस्य प्रेम कार्की, ध्रुव राई, एमाले जिल्ला कमिटी सचिव एक्सन राई, तथा टेम्केमैयुङ गाउँपालिका उपाध्यक्ष रमादेवी राईलगायत विभिन्न नेताहरू र कार्यकर्ताहरूको सहभागिता थियो। सहभागीहरूले गाउँ कमिटीको नेतृत्वमा रहने नवगठित टिमलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा पार्टीको मार्गदर्शनमा अघि बढ्न प्रेरणा प्रदान गरे।

पौवादुङमा गाउँ कमिटीको अधिवेशनले एमालेको स्थानीय स्तरमा प्रभावकारिता र जिम्मेवारी थप गर्न मद्दत पुर्याउने अपेक्षा गरिएको छ। नवगठित कमिटीले पार्टीको नीति, योजना तथा उद्देश्य अनुसार काम गर्दै स्थानीय जनताको सेवा गर्न क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेको छ।