आगामी मंसिर १६ गते कोशी प्रदेशका विभिन्न पालिकाका रिक्त ९ पदमा उपनिर्वाचन हुँदैछ । त्यसका लागि निर्वाचन आयोगले आवश्यक तयारी गरिरहेको छ । मतदाता नामावली अद्यावधिक गर्ने, निर्देशिका निर्माण र उम्मेदवारहरूको मनोनयन प्रक्रियासम्बन्धी कामलाई प्राथमिकताका साथ अघि बढाइएको आयोगले जनाएको छ।

कार्तिक २६ गते अन्तिम मतदाता नामावली सूची सार्वजनिक गर्दै आयोगले मतदान केन्द्रहरूको निर्धारण गर्ने तयारी थालेको छ । त्यसैगरी कार्तिक ३० गते निर्वाचन अधिकृतहरूको कार्यालय स्थापना गर्ने तयारी छ । आयोगले उपनिर्वाचनका लागि आवश्यक बजेट व्यवस्था गर्न पनि सरकारसँग माग गरेको छ । 

ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष कांग्रेसका दील प्रसाद बोखिमले राजीनामा दिएपछि पद रिक्त भएको छ । यहाँ २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा बोखिमले ४०३ मत पाएका थिए । उनका प्रतिस्पर्धी एमालेकी कुमारी सावादेनले ३९९ मत पाएकी थिइन् । सावादेनको तुलनामा बोखिम ४ मत बढी ल्याएर निर्वाचित भएका थिए ।

झापाको कन्काई नगरपालिका वडा नम्बर ६ का वडाध्यक्षको निधन भएसँगै यो पद पनि रिक्त छ । यहाँ २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा एमालेका दीर्घराज थापा ५०८ मत पाएर विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार लक्ष्मी प्रसाद ओलीले ४४० मत पाएका थिए । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नेपाली कांग्रेसका जयप्रकाश गच्छदार थारुको निधन भएपछि सो स्थानमा उपनिर्वाचन हुँदैछ । गत चुनावमा गच्छदारले ७ हजार ६०५ मत पाएका थिए । उनका निकटम प्रतिस्पर्धी एमालेका शिव नारायण माझीले ६ हजार ९३ मत पाएका थिए । तेश्रो स्थानमा रहेका माओवादीका विजय कुमार सरदारले २ हजार ७२७ मत पाएका थिए ।

तेर्हथुमको लीगुराँस नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्षको निधन भएपछि सो स्थानमा उपनिर्वाचन हुँदैछ । अघिल्लो चुनावमा नेपाली कांग्रेसका तेजमान लिम्बु ५२४ मत पाएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी एमालेका तुलसीराम खनालले ४१३ मत पाएका थिए ।

सुनसरीको गढी गाउँपालिका वडा नम्बर ६ का अध्यक्षको निधन भएपछि सो पद रिक्त छ । यहाँ एमालेका वडा अध्यक्ष सदानन्द उराव झाँगर ७१२ मत पाएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी माओवादी केन्द्रका कुशेश्वर खेरवारले ४२४ मत पाएका थिए ।

ओखलढुंगाको जिल्ला समन्वय समिति प्रमुख डिल्लीराम खनालको निधन भएकाले सो पदका लागि पनि उपनिर्वाचन हुँदैछ । ओखलढुंगाको मोलुङ गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष गोपीकृष्ण कार्कीको निधन भएपछि उक्त पद रिक्त छ । २०७९ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसका कार्कीले ३८४ मत पाएका थिए । उनका निकटतम प्रतिस्पर्धी एमालेका गोपाल नेपालले ३७० मत पाएका थिए ।                                          उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १२ मा वडा अध्यक्ष पद रिक्त छ । अघिल्लो निर्वाचनमा कांग्रेसका चुडाराज काफ्ले ४३९ मत पाएर वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनका प्रतिस्पर्धी एमालेका रमेश राउत क्षेत्रीले ४०८ र माओवादीका नविन कुमार वान्तवाले ४०४ मत पाएका थिए ।

उपनिर्वाचन हुन लागेको उदयपुरको बेलका नगरपालिका वडा नम्बर ९ मा अघिल्लो चुनावमा कांग्रेसका पदम बहादुर खड्काले ६७१ मत पाएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी एमालेका रणजित राईले ५४८ मत पाएका थिए ।