काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाने भएपछि संसदीय समितिले बैठक आह्वान गरेको छ ।प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले प्रधानमन्त्री ओलीको चीन भ्रमणको विषयमा छलफल गर्न आइतबार बिहान ११ बजे बैठक बोलाएको संसद सचिवालयले जनाएको छ । सचिवालयका अनुसार संसदीय समितिको बैठक सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ । बैठकमा प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री आरजु राणालाई समेत बोलाउने समितिको तयारी छ । चिनियाँ राष्ट्रपति सी जिङपिङको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली आगामी मंसिर १७ ९२, डिसेम्बर० गते चीनको राजधानी बेइजिङ जान लागेका हुन् । प्रधानमन्त्री ओलीको चीन भ्रमणमा बीआरआई, नेपाल–चीनबीच भएका यस अगाडिका सम्झौता र कार्यान्वयन र चलिरहेका परियोजना, दुई देशबीचको सम्बन्ध लगायतका विषयमा पनि छलफल हुने स्रोतको दाबी छ । सांसदहरुले बीआरआईअन्तर्गत ऋण लिन हुने र नहुने दुई मत राख्दै आएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि लिएको चिनियाँ ऋण मिनाहाको प्रस्तावलाई पनि जोड दिने सरकारले तयारी गरेको छ । यस अगाडि गत भदौमा अर्थ मन्त्रालयले चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष याङ वेइकुनमार्फत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको ऋणलाई अनुदानमा परिणत गर्न चिनियाँ पक्षलाई आग्रह गरेको थियो । वेइकुन र नेपालका लागि चिनियाँ राजदूत छन् सोङसहितका चिनियाँ टोलीसँगको भेटमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चीन नेपालको असल छिमेकी भएको र नेपालको अर्थतन्त्रको अवस्थालाई विशेष ध्यान दिँदै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको ऋणलाई अनुदानमा बदल्न आग्रह गरेका थिए ।
उक्त विषय प्रधानमन्त्री ओलीको भ्रमणमा पनि प्रस्ताव रहने स्रोतको दाबी छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि नेपाल सरकारले चीनको एक्जिम बैंकबाट हालको विनिमय दरअनुसार करिब २५ अर्ब ८८ करोड रुपैयाँ १३३८.७४ मिलियन चिनियाँ युआन ऋण लिने सम्झौता गरेको थियो । २०७२ साल चैत ८ गते पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ऋण सम्झौता भइ २०७३ साल पुस २७ गतेबाट निर्माण कार्य सुरु भएको थियो । २०७९ साल पुस १७ गते पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरिएको थियो । प्रधानमन्त्री ओलीको चीन भ्रमण तय भएसँगै तयारीका लागि परराष्ट्रमन्त्री आरजु राणा देउवा मंसिर १३ ९नोभेम्बर,२८ ० मा बेइजिङ जाने भएकी छन् । परराष्ट्रमन्त्री राणा जापानको राजधानी टोकियो हुँदै बेइजिङ जान लागेकी हुन् । प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा उठाइने विषयका बारेमा सरकारले आन्तरिक छलफल गरिरहेको छ । नेकपा एमालेका अध्यक्ष ओली गत असार ३० गते आइतबार प्रधानमन्त्री पदमा नियुक्त भएका थिए । प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै नेपालका लागि चिनियाँ राजदूत छन सोङले ओलीसँग भेट गरेका थिए । बधाई दिन प्रधानमन्त्री ओलीलाई भेटका राजदूत सोङले त्यहीबेला चीन भ्रमणबारे अनौपचारिक छलफल गरेका थिए । चिनियाँ राजदूत सोङले बेइजिङस्थित विदेश मन्त्रालयसँग समन्वय गरी प्रधानमन्त्री ओलीको चीन भ्रमणको मिति तय भएको स्रोतले जानकारी दिएको छ ।