इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले खेलकुदको क्षेत्रमा हालसम्म भएका लगानीहरू अपेक्षा अनुसार राम्रा नरहेको बताउनुभएको छ । शनिबार धरान उपमहानगरपालिका १७ स्थित कोशी प्रदेश फुटबल संघको आयोजनामा एन्फा एकेडेमीका खेलाडीलाई फुटबल सामग्री वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । खेलकुदको क्षेत्रमा लगानीहरु अपेक्षा अनुसार नरहेकाले लक्ष्यहरु जोड्न नसकिएको उहाँले बताउनुभयो । फुटबल खेलको लागि नेपालमा जुन लगानी हुनु पर्ने त्यो छैन, नेपालमा खेलसम्बन्धी लगानी कम रहेकाले पनि नेपालको खेल विश्वको राम्रो स्तरसम्म पुग्न नसकेको उहाँको भनाई छ । विश्वमा सबैभन्दा धेरै खेलिने र हेरिने खेल नै फुटबल खेल हो पछिल्लो समय फुटबल नचिन्ने र नहेर्ने मान्छे विश्वमा छैनन्, त्यस कारण खेलकुद क्षेत्रमा लगानी गर्नु आवश्यक रहेको उहाँले बताउनुभयो ।  आगामी १० वर्षमा नेपाली टिमलाई वल्र्ड कपमा पुर्याउने उद्देश्यका साथ लिखित योजना लिएर आएमा प्रदेश सरकारले लिखित सम्झौता गरेर सहयोग गर्ने प्रतिबद्र्धता व्यक्त गर्नुभयो ।  खेलकुदले खेलाडीलाई मात्र चिनाउने नभई समग्र राज्यलाई नै अन्तर्राष्ट्रिय स्तरमा चिनाउने भएकाले योजना बनाएर खेलकुदलाई बजेट छुटयाउने र खेलकुद क्षेत्रमा बजेटको प्रबद्र्धन गर्ने काम कोशी प्रदेश सरकारको हुने बताउदै, उहाँले खेलकुद क्षेत्रमा लगानी गरेर प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । शनिबार  आयोजित कार्यक्रममा एन्फा एकेडेमी धरानको ३० जना खेलाडीलाई जर्सी, जुत्ता, ट्रयाकसुट लगायतका फुटबल सामग्रीहरू वितरण गरिएको छ । कार्यक्रममा कोशी प्रदेशको सांसद रमेशकुमार बस्नेत, बिजय राई, वरिष्ठ पत्रकार हर्ष सुब्बा, मजदुर सङ्गठनको केन्द्रीय अध्यक्ष भिम ज्वाला राई लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।