संखुवासभा । संखुवासभाको सदरमुकाम खाँदबारीबाट २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरीको इटहरी उपहानगरपालिका–४ घर भइ खाँदबारी नगरपालिका–१ मा डेरा गरेर बस्ने २३ वर्षीय विष्णु शर्मा र खाँदबारी–८ का ३८ वर्षीय भक्स भनिने नारायण रसाइली रहेका छन् । संखुवासभा प्रहरी प्रमुख डीएसपी दक्षकुमार बस्नेतका अनुसार लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर)सहित शर्मालाई कात्तिक २९ गते दिउँसो खाँदबारी–८ बिदाई चौताराबाट पक्राउ गरिएको हो ।

शर्माको साथबाट १.२ ग्राम खैरो हेरोइन बरामद भएको बस्नेतले बताए । उनकै बयानका आधारमा लागुऔषधको कारोबारमा संलग्न रसाइलीलाई खाँदबारी–८ डाँडा गाउँबाट कात्तिक ३० गते पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार रसाइलीको साथबाट ९ हजार ५ सय रूपैयाँ नगद र खैरो हेरोइन बनाउन प्रयोग हुने कालो प्लाष्टिकका ५५ वटा टुक्रा बरामद भएको छ । दुवै जनाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन प्रहरीले अनुसन्धान अघि बढाएको छ ।