काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच मंगलबार पनि बालुवाटारमा छलफल हुने भएको छ । मंगलबार साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएपछि दुई नेता भेट्न लागेका हुन् । मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री निवास बालुवाटारमै हुने छ । मन्त्रिपरिषद् बैठकमा ओलीले पर्फर्मेन्स कमजोर भएका मन्त्रीहरूबारे पनि केही बोल्न सक्ने बताइएको छ । सोमबार पनि प्रधानमन्त्री ओली र देउवाबीच लामो छलफल भएको थियो । सोमबारको छलफलमा मन्त्रिपरिषद् फेरबदल, प्रधानमन्त्रीको चीन भ्रमण र बीआरआईबारे कुराकानी भएको थियो । बालुवाटार स्रोतका अनुसार ठ्याकै कुन विषयमा कसरी दुई नेताले छलफल गरे भन्ने कुराको जानकारी भने छैन । बालुवाटार स्रोतका अनुसार सभापति देउवा र ओलीले पनि केही कांग्रेस एमालेका मन्त्रीहरू परिवर्तन गर्न तयार छन् । बैठकमा आफ्ना पार्टीका नेताको धारणा बुझेर दुई नेताहरू बस्ने बताइएको छ । यता सभापति देउवाले बूढानीलकण्ठमा कांग्रेसका दुई महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापासँग मंगलबार बिहान छलफल गरेका छन् ।