इटहरी । धनकुटा नगरपालिकाले मंगलबार एभोकाडो तथा स्थानीय उत्पादनको प्रदर्शनीको आयोजना गरेको छ । २०७५ सालमा एभोकाडोको राजधानी घोषणा गरेको नगरपालिकाले विगतमा एभोकाडो महोत्सव आयोजना गर्दै आएको थियो । यस वर्ष भने एभोकाडो सहित अन्य स्थानीय उत्पादनको प्रदर्शनी आयोजना गरेको हो । एभोकाडो सहितका स्थानीय उत्पादनहरूको प्रवद्र्धन तथा कृषक एवं उद्यमीहरूलाई प्रोत्साहनका लागि प्रदर्शनी आयोजना गरिएको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले जानकारी दिनुभयो । कृषि क्षेत्रको प्रोत्साहन र बजारीकरणको लागि नगरपालिकाले योजना प्राथमिकतामा राखेको उहाँले बताउनु भयो । प्रदर्शनीमा उद्यमशीलता विकास सम्बन्धी परामर्श पनि दिइएको छ । प्रदर्शनीका लागि रहेका २४ स्टल धनकुटा नगरपालिकाले स्टल निःशुल्क उपलब्ध गराएको थियो । कृषक, उत्पादक, व्यवसायी, विज्ञ तथा लगानीकर्ताको एकै ठाउँमा भेटघाट तथा अन्तरक्रिया भएकाले प्रदर्शनीले स्थानीय उत्पादनको प्रवद्र्धन तथा बजारिकरणमा सघाउ पुर्याएको बताइएको छ। यद्यपी कृषकहरुले विचौलियाका कारण आफ्ना उत्पादनको उचित मूल्य हात नपरेको गुनासो गरेका थिए । प्रदर्शनीको उद्घाटन कोशी प्रदेशसभाका सदस्य निरन राईले गर्नुभएको थियो। कार्यक्रममा विभित्र सांस्कृतिक प्रस्तुति तथा नृत्य समेत प्रस्तुत गरिएको थियो ।


