इटहरी । भोजपुरको ट्याम्के मैयुङ गाउँपालिकामा भ्रमण वर्ष २०२५ लाई लक्षित गर्दै मुन्दुम ट्रेलको प्रवर्द्धनका लागि तयारी बैठक सम्पन्न भएको छ । बैठकमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष लगायतका सरोकारवालाहरूको सहभागिता रहेको थियो । प्रमुख अतिथि ट्याम्के मैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले कार्यक्रमको नेतृत्व गर्नुभएको थियो । ग्रेटर मुन्दुम ट्रेल अवधारणालाई अघि सार्दै खुवालुङ देखि चोमलुङ्गा सम्मका क्षेत्रलाई समेटेर पर्यटन प्रवर्द्धन गर्ने योजना प्रस्तुत गरिएको छ । बैठकमा लालीगुराँस महोत्सव, सुन्तला महोत्सव, अल्ट्रा म्याराथन, सांस्कृतिक साहित्यिक महोत्सव, हनी हन्टिङ, माउन्टेन साइक्लिङ, र रुद्राक्ष महोत्सव जस्ता विशेष कार्यक्रमहरूको प्रस्ताव गरिएको छ । मुन्दुम ट्रेललाई विश्वस्तरीय पर्यटन नक्शामा राख्ने उद्देश्यले सन् २०२५ सम्म एक लाख आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ । यो पहलले स्थानीय अर्थतन्त्र सुदृढ गर्नाका साथै क्षेत्रीय सांस्कृतिक तथा प्राकृतिक सम्पदाको संरक्षणमा योगदान दिने अपेक्षा गरिएको छ । मैयुङ टेम्के साल्पा सिलिचुङ टुरिजम प्रोमोसन सेन्टरका अध्यक्ष रमेश कुमार राईले सात वर्षदेखि ट्रेलको प्रचारप्रसार भइरहेको र भ्रमण वर्ष २०२५ लाई सफल बनाउन स्थानीय तह र सरोकारवालाहरूबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । ट्याम्के मैयुङ गाउँपालिकाले मुख्य प्रायोजकको भूमिका निर्वाह गर्दै यस ऐतिहासिक पहललाई समर्थन गरेको छ । अध्यक्ष बस्नेतका अनुसार, यस अभियानले मुन्दुम ट्रेललाई एक प्रमुख गन्तव्यका रूपमा स्थापित गर्नका साथै पर्यटनको कमजोरी पहिचान गरी सुधार गर्ने अवसर प्रदान गर्नेछ । स्थानीय निकाय, पर्यटन व्यवसायी, र समुदायको सहकार्यले यो पहललाई सफल बनाउँदै नेपालको पर्यटन विकासमा ठूलो योगदान दिने विश्वास गरिएको छ ।


