इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अनावश्यक खर्चलाई कटौती गरेर पुँजीगत खर्च बढाउनुपर्ने बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले आज आयोजना गरेको छलफलमा मुख्यमन्त्री कार्कीले अनावश्यक खर्च कटौती गर्दै संरचनाको बाढीलाई रोक्नुपर्ने बताए । राष्ट्रिय पुँजीको विकास गर्ने विषयलाई प्राथमिकता दिएर काम गर्नुपर्ने बताउँदै मुख्यमन्त्री कार्कीले त्यसका लागि पर्यटन, सूचना प्रविधि, कृषि र निर्माण क्षेत्रमा ध्यान दिनुपर्ने उल्लेख गरे । स्वदेशी उत्पादनलाई बढाउने र निर्यातजन्य उद्योगलाई प्रोत्साहन गर्ने नीति ल्याउँदै उनले प्रदेश र स्थानीय तहले गर्न सक्ने कामलाई उनीहरूको क्षमताका आधारमा केन्द्रले सहयोग गर्नुपर्ने बताए । कार्यक्रममा कोसी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले असल अभ्यासहरूलाई अन्यत्र लैजाँदै ठूलो पुँजीलाई मात्र होइन साना पुँजीलाई पनि प्रोत्साहन गरेर अगाडि बढ्नुपर्ने बताए । निर्यातमूलक उद्योगलाई प्रोत्साहन गर्दै तत्काल लोकप्रिय हुने कार्यक्रमभन्दा दीर्घकालीन कार्यक्रमहरू अगाडि सार्नुपर्ने उनले बताए । कोसी प्रदेश सरकारका मन्त्रीहरू, सचिवहरूको उपस्थितिमा आयोगले छलफल गरेको थियो । कार्यक्रममा सहभागी भएकाहरूले ऐन नियमहरूलाई सहज र सरल बनाइनुपर्ने, नियमनकारी निकायहरूको भूमिका प्रभावकारी बनाइनुपर्ने, सङ्घीय संरचनाअनुसारको अधिकारलाई प्रत्यायोजन गरेर काम गर्नुपर्ने, रोजगारमूलक उद्योगलाई प्रवर्द्धन गर्नुपर्ने, एकै प्रकृतिका सरकारी कार्यालयलाई तीन तहमा विस्तार गर्न नहुनेलगायत सुझाव दिएका थिए ।


