इटहरी | इटहरीमा सातौं सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक सुरक्षा कोष शाखा कार्यालय विराटनगरले अन्तरक्रिया कार्यक्रम गरी मनाएको छ ।
मंगलबार इटहरीको इन टुरिस्ट होटलमा सामाजिक सुरक्षा कोष कोशी प्रदेश कार्यलय प्रमुख दिपक भट्टको अध्यक्षता तथा इटहरी उपमहानगरपालिकाका उपप्रमुख संगिता कुमारी चौधरीको प्रमुख आथित्यतामा सातौं सामाजिक सुरक्षा दिवस सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरिएको थियो । इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष जीवन पराजुलीले सामाजिक सुरक्षा कोष अत्यन्तै महत्त्वपूर्ण र आवश्यक रहेको बताउनुभयो । कार्यक्रमका क्रममा सामाजिक सुरक्षा कोषको महत्व, फाइदा, र विशेषताका विषयमा प्रमुख दीपक भट्टले जानकारी गराउनुभयो । कार्यक्रमकी प्रमुख अतिथि इटहरी उपमहानगरपालिकाका उपप्रमुख संगिता कुमारी चौधरीले कोषमा सबैको सहभागीता आवश्यक रहेको औंल्याउँदै सामाजिक सुरक्षाका विभिन्न योजनाहरूले जनताको जीवनस्तर उकास्न सहयोग पुग्ने धारणा राख्नुभयो ।
सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारीमा जानेहरूको बीमा, आकस्मिक मृत्युपछि परिवारलाई आर्थिक सुरक्षा, अवकाश योजना, अशक्तता सुरक्षा, र श्रमिकको मृत्युमा परिवारलाई बीमा रकम प्रदान गर्ने व्यवस्था गरेको सामाजिक सुरक्षा कोष कोशी प्रदेश कार्यलय प्रमुख दिपक भट्टले बताउनुभयो ।
सामाजिक सुरक्षा र रोजगार भन्ने मूल नाराका साथ अगाडि बढिरहेको कोषमा हालसम्म १८ लाखभन्दा बढी व्यक्तिहरू आबद्ध भइसकेका छन् । कार्यक्रममा हिसान सुनसरीका अध्यक्ष सागर भट्टराई, ट्रेड युनियन समन्वय केन्द्रका प्रतिनिधि टीका प्रसाई, श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रतिनिधि, प्याब्सन र एन प्याब्सनका पदाधिकारीहरू, सामाजिक सुरक्षा कोषका कर्मचारी तथा विभिन्न संघ–संस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै सामाजिक सुरक्षा उन्नत अवधारणा र मानव जातिको भविष्यको सुनिश्चितताका लागि महत्वपूर्ण अभ्यास भएको बताउनुभएको छ । दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रमले सामाजिक सुरक्षाबारे जनचेतना फैलाउने र सबैलाई यसमा सहभागी गराउन प्रेरित गर्ने लक्ष्य राखेको आयोजकले जनाएका छन् ।


