भोजपुर | नेपाल तरुण दल भोजपुरले मंसिर २९ र ३० गते कोशी प्रदेशस्तरीय भेला आयोजना गर्ने भएको छ। यो भेला ट्याम्के मैयुम गाउँपालिकामा सम्पन्न हुने र यसमा नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङको प्रमुख आतिथ्य रहने छ। सोमबार आयोजित पत्रकार सम्मेलनमा तरुण दल भोजपुरले यस महत्वपूर्ण कार्यक्रमको घोषणा गरेको हो।

पत्रकार सम्मेलनमा तरुण दल भोजपुरका जिल्ला अध्यक्ष सरोज बस्नेतले यो भेला युवाका हकहित, बृत्ति विकास, रोजगारी, सम्मान, र सुरक्षाका सवालमा गहन बहस गर्नका लागि आयोजना गरिएको बताए। उनका अनुसार, कार्यक्रमले तरुण युवाहरुको आवाजलाई सशक्त बनाउन र तिनका आवश्यकतामा केन्द्रित नीतिगत पहललाई बलियो बनाउनेछ।

कार्यक्रमका बारेमा जानकारी दिँदै तरुण दलका कार्यवाहक अध्यक्ष ज्योति पौडेलले भने, "यो भेला तरुण दलभित्र आपसी सद्भाव, हार्दिकता, र भेटघाटको अवसर प्रदान गर्नेछ। साथै, यसले संगठनलाई थप एकताबद्ध र मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ।"

भेलाको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै भोजपुर कांग्रेसका युवा नेता तथा तरुण दलका केन्द्रीय सदस्य जनक घलेले भने, "यो भेला भव्य, सभ्य, र प्रभावकारी हुनेछ। यसले कोशी प्रदेशका सबै तरुणहरुलाई एकसाथ ल्याएर सशक्त एकता प्रदर्शन गर्ने अवसर प्रदान गर्नेछ।

पत्रकार सम्मेलनमा कोशी प्रदेशका सदस्य तथा भोजपुर नगर प्रमुख कैलाश आले, पार्टी सचिव सफल किरात, तरुण दलका केन्द्रीय सदस्य समीर मोक्तान, प्रदेश प्रतिनिधि फुर्लाक्पा शेपौ लगायतका नेताहरुको उपस्थिति रहेको थियो। उनीहरुले पनि कार्यक्रमप्रति आफ्नो प्रतिबद्धता र समर्थन व्यक्त गरे।

भोजपुरमा आयोजना हुन लागेको यो भेला कोशी प्रदेशका तरुण युवाहरुको लागि एक ऐतिहासिक अवसर बन्ने विश्वास गरिएको छ। यस भेलाले तरुण दलको संगठनात्मक विकास र युवाहरुको नेतृत्व क्षमताको प्रवर्द्धनमा उल्लेखनीय योगदान गर्ने अपेक्षा गरिएको छ।

तरुण दल भोजपुरको यो प्रयासले स्थानीय तथा प्रदेशस्तरमा संगठनलाई अझ बलियो बनाउँदै युवाहरुका अधिकार, सम्मान र सुरक्षाका सवालमा आवाज बुलन्द गर्ने उद्देश्य राखेको छ। अध्यक्ष बस्नेतले सबै युवाहरुलाई कार्यक्रममा उपस्थित भएर आफ्नो साथ र समर्थन प्रदान गर्न आग्रह गरेका छन्।