पथरी / मोरङको पथरी शनिश्चरेमा हुने लिम्बू समुदायको चासोक तङ्नाम कार्यक्रममा भ्वाइस अफ नेपाल सिजन ४ र ५ का फाइनलिस्ट क्रमशः गायक साहिल लिम्बू, नोगन लिम्बू लगायतका कलाकारहरुको उपस्थितिमा सांगीतिक कार्यक्रम हुने भएको छ ।
कार्यक्रममा याक्थुङ स्टार सिजन १ विजेता अञ्जना नाल्बो, गायक भिम लिम्बू, रुक्मान लिम्बू लगायतका कलाकार आउने भएका छन् ।
पथरी शनिश्चरे स्थित सिरिजंङ्गा स्मृति धार्मिक वनमा मंसिर ३० गतेदेखि तीन दिनसम्म चासोक तङ्नाम कार्यक्रम हुने आयोजक समितिले आज (मंगलबार) पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो ।
कार्यक्रम समापनको साँझ पुस- २ गते अञ्जना नाल्बो, याक्थुड स्टार सिजन १ सेकेण्ड रनरअप गायक आईतहाङ चोडवाङ लगायत स्थानीय कलाकारहरुको प्रस्तुति रहने आयोजक किराँत याक्थुङ चुम्लुङ पथरी शनिश्चरे नगर समितिका अध्यक्ष विक्रम लिम्बूले बताउनु भयो । त्यसैगरी, चर्चित हास्य कलाकार लक्षणा राई (थसुल्ली) र जसु राईको समेत कार्यक्रममा सहभागिता रहने उपाध्यक्ष गणेश थक्लुङ लिम्बूले जनाउनु भयो ।
प्रदेश स्तरीय भलिबल हुने
चासोकको अवसरमा प्रदेश स्तरीय भलिबल प्रतियोगिता हुनेभएको छ । क्रमस ः ६०, ४० हजार नगद, ट्रफी, मेडल, प्रमाणपत्र पुरस्कार रहेको प्रतियोगितामा आठवटा टिम उपस्थित हुने आयोजक समितिले जनाएको छ ।
भलिबलमा खोटाङको साकेला गाउँपालिका, झापाको बिर्तामोड भलिबल टिम, मोरङको विराटनगर रानी, बेलबारी, उर्लाबारी, सयपत्री बेलबारी, अरुणोदय बोर्डिङ स्कुल पथरी शनिश्चरे र एम.एल.मोरङवीच प्रतियोािगता हुने आयोजक समितिले जनाएको छ। कार्यक्रममा पक्लुङ, लेप्मा (छेलो) हप्रिडलक्मा (लङजम्प) लितोड आप्मा (धनुषकाँण हनाई) इड्या थक्मा (भाले जुधाई) थाक्पा उम्मा (डोरी तनाई), नाउका पिङ लगायतको खेल हुने अशोक नाल्बोले बताउनु भयो । उधौली पूजा र अक्षता भेटी संकलन, प्रसाद वितरण लगायतको कार्यक्रम रहेको छ ।


