सुनसरी / रामधुनी नगरपालिकाले न्यायिक समितिसँग प्रहरी अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको छ। नगर प्रमुख शंकरलाल चौधरीको प्रमुख आतिथ्यता र उपप्रमुख तारा थापाको अध्यक्षतामा भएको यो कार्यक्रमले स्थानीय सरकार र प्रहरी प्रशासनबीचको सहकार्यलाई सुदृढ बनाउने उद्देश्य राखेको थियो।
कार्यक्रम रामधुनी नगरपालिकाको न्यायिक समितिको पहलमा आयोजना गरिएको हो। यस अवसरमा न्यायिक समितिका सदस्य, प्रहरी प्रशासनका उच्च अधिकारी, स्थानीय जनप्रतिनिधि र सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो।
नगर प्रमुख शंकरलाल चौधरीले कार्यक्रममा बोल्दै न्यायिक समिति र प्रहरी प्रशासनको सहकार्यले स्थानीय तहमा शान्ति, सुरक्षा र कानूनी शासन स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनले भने, “स्थानीय जनताको समस्या समाधान गर्न कानूनी संरचना बलियो हुनुपर्छ, जसका लागि प्रहरी प्रशासन र स्थानीय सरकारबीच सशक्त सहकार्य आवश्यक छ।”
त्यस्तै, रामधुनी नगरपालिकाकी उपप्रमुख तारा थापाले न्यायिक समितिको भूमिकाबारे चर्चा गर्दै यस किसिमका अन्तक्र्रियाले कानूनी समस्या समाधान गर्ने प्रक्रियालाई थप प्रभावकारी बनाउन सक्ने विश्वास व्यक्त गरिन्। उनले स्थानीय तहमा देखिने विवाद, महिला हिंसा, बालबालिकासम्बन्धी समस्या, र अन्य सामाजिक मुद्दाहरूको समाधानका लागि प्रहरी प्रशासनसँग नियमित समन्वयको आवश्यकता औँल्याइन्।
कार्यक्रममा स्थानीय स्तरमा उठ्ने कानूनी चुनौतीहरूको पहिचान, विवाद समाधानका प्रक्रियाहरूमा सुधार, शान्ति सुरक्षा कायम गर्ने उपाय, र कानूनी शिक्षा अभियान सञ्चालन गर्ने विषयमा गहन छलफल गरिएको थियो।
प्रहरी प्रशासनका प्रतिनिधिले स्थानीय समुदायसँग सहकार्य गरेर कानूनी विवादलाई समयमा नै समाधान गर्न र अपराध नियन्त्रणमा पहल गर्ने प्रतिबद्धता जनाए। कार्यक्रममा सामुदायिक प्रहरी साझेदारीलाई अझ प्रभावकारी बनाउने उपायहरूबारे पनि छलफल गरिएको थियो।
कार्यक्रममा सहभागी स्थानीय बासिन्दाले न्यायिक समिति र प्रहरी प्रशासनबीचको सहकार्यलाई नियमित र व्यवस्थित बनाउन माग गरेका छन्। उनीहरूले कानूनी समस्याहरू छिटो समाधान गर्नका लागि नगरपालिकाले यस किसिमका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए।
यस कार्यक्रमले रामधुनी नगरपालिकामा शान्ति, सुरक्षा, र कानूनी शासनलाई थप प्रभावकारी बनाउनका लागि नयाँ आयाम थपेको छ। यस्ता कार्यक्रमले स्थानीय सरकार र प्रहरी प्रशासनबीचको विश्वास र सहकार्यलाई सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको रामधुनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार चौधरीले बताउनुभयो ।
कार्यक्रममा सुनसरीका प्रहरी प्रमुख एसपी सुमन तिम्सिनाले कानुनी प्रक्रियामा सबै पक्षलाई समान पहुँच पुर्याउन स्थानीय तहको न्यायिक समिति प्रभावकारी हुन आवश्यक रहेको बताए। उनले मेलमिलाप र विवाद समाधानमा न्यायिक समितिले भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्दै, प्रहरी प्रशासनले समितिसँग सहकार्य गरेर स्थानीय विवाद समाधानलाई प्राथमिकता दिने प्रतिवद्धता जनाए।
इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरिक्षक लेखनाथ दाहाल , प्रस्थापित इलाका प्रहरी कार्यलय रामधुनीका प्रहरी निरिक्षक सुमन मुदेल,नगरपालिकाका कर्मचारी, प्रहरी प्रशासनका सदस्य, र स्थानीय अगुवाहरूको सक्रिय उपस्थिति रहेको थियो।


