सुनसरी / सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ५ मा महिला हिंसा विरुद्ध १६ दिने सचेतना मुलुक कार्यक्रम भव्य रूपमा समापन गरिएको छ। "हामी सबैको प्रतिवद्धता, लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता" भन्ने मूल नाराका साथ सम्पन्न यो कार्यक्रम रामधुनी ५ को डागिनथान मन्दिरमा आयोजना भएको थियो।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा रामधुनी नगरपालिकाकी उपप्रमुख तारा थापा रहनुभएको थियो भने अध्यक्षता वडा महिला समिति रामधुनी ५ की अध्यक्ष हेमा अधिकारी ले गर्नुभएको थियो। वडा महिला समितिको सक्रिय आयोजनामा तथा रामधुनी नगरपालिकाको विशेष सहयोगमा आयोजित यस कार्यक्रमले महिला अधिकार, लैङ्गिक हिंसा, र समाजमा महिला-पुरुषबीचको समानताको महत्त्वका विषयमा छलफल गरेको थियो।
कार्यक्रममा विभिन्न प्रशिक्षण र छलफल सत्रहरू आयोजना गरिएका थिए। महिलाहरूलाई संविधानले प्रदान गरेका अधिकारहरू, राज्यका निकायमा हुने प्रतिनिधित्व, वंशज अधिकार, प्रजनन अधिकार लगायतका विषयमा जानकारी दिइएको थियो। प्रशिक्षणको जिम्मा प्रशिक्षक पेशल खतिवडा ले लिनुभएको थियो।
कार्यक्रमले महिला हिंसाका घटना घटाउने र महिला अधिकार प्रवर्द्धनका लागि समाजलाई सचेत बनाउने उद्देश्य राखेको थियो। सहभागी महिलाहरूले आफूले भोगेका समस्या र समाधानका उपायबारे छलफल गरेका थिए।
उपप्रमुख तारा थापाले समाजमा महिलामाथिको विभेद हटाउन सबैको सहकार्य आवश्यक रहेको बताउनु भयो। उहाँले भन्नुभयो, "महिलाहरूलाई शिक्षाको पहुँच पुर्याउनु र अधिकारबारे सचेत गराउनु पहिलो प्राथमिकता हो। हिंसा अन्त्यका लागि समुदायको ऐक्यबद्धता अनिवार्य छ।"
कार्यक्रममा वडा महिला समिति, नगर महिला समिति, महिला बालबालिका शाखाका कर्मचारी, सामुदायिक विद्यालयका प्रतिनिधि, कोमिङ अस्पतालका कर्मचारी, वडा वाल सञ्जालका सदस्यहरू, स्वयम्सेविका र स्थानीय महिलाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
वडा महिला समिति रामधुनी ५ की अध्यक्ष हेमा अधिकारीले कार्यक्रमको समापन गर्दै भनिन्, "महिला हिंसा अन्त्यका लागि मात्र होइन, महिला-पुरुष समानता कायम गर्न पनि यस्ता सचेतनामूलक कार्यक्रम आवश्यक छ। यसले समाजमा सकारात्मक प्रभाव पार्नेछ।"
यो १६ दिने सचेतना अभियानले महिलाहरूलाई उनीहरूको अधिकारप्रति सचेत बनाउँदै समाजमा हिंसाविरुद्धको अभियानलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरिएको छ।


