इटहरी | चलचित्र ‘कार्साङ’ निर्माण टोली अहिले प्रचारप्रसार अभियानका लागि पूर्वी नेपालमा छ। निर्देशक यम शेर्पाको नेतृत्वमा मुख्य कलाकारहरू जितु नेपाल, दिया मास्के, सृजना निङ्लेखु लगायतको समूहले इटहरी, दमक र विराटनगरमा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरेको छ।

शनिबार इटहरीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा निर्देशक यम शेर्पाले चलचित्र ‘कार्साङ’ पारिवारिक कथा प्रस्तुत गर्ने बताउँदै, यो चलचित्र शेर्पा समुदायको जीवनशैली, संघर्ष र सांस्कृतिक पृष्ठभूमिमा आधारित रहेको स्पष्ट पारे। निर्देशक शेर्पाले पूर्वेली दर्शकबाट चलचित्रले माया र समर्थन पाउने विश्वास व्यक्त गरे।

चलचित्रका मुख्य अभिनेता जितु नेपालले आफूले चाहेको जस्तै भूमिका निर्वाह गर्न पाएको र यसलाई उत्कृष्ट बनाउन धेरै मेहनत गरेको बताए। अभिनेत्री दिया मास्केले यो चलचित्रमा काम गर्न एक क्षण पनि नसोची सहमति जनाएको उल्लेख गरिन्। उनले टिजरमा बोलेको संवादले चर्चा पाएको भए पनि त्यसको अर्थ बुझ्नका लागि दर्शकले पुस २६ सम्म प्रतीक्षा गर्नुपर्ने बताइन्।

अभिनेत्री सृजना निङ्लेखुले आफू लिम्बू समुदायकी भए पनि शेर्पा पात्रलाई न्याय दिन चुनौतीपूर्ण अनुभव भएको बताइन्। उनले मनपर्ने कलाकार दयाहाङ राईसँग काम गर्न पाएकोमा गर्व व्यक्त गरिन्।Messenger_creation_B6D74ED0-90A8-437B-8BD5-71875F4B275D

चलचित्रमा अभिनेता दयाहाङ राईले शेर्पा समुदायका झाँक्रीको भूमिका निर्वाह गरेका छन्। निर्देशक शेर्पाको निर्देशन रहेको यो चलचित्रको कथा पनि निर्देशक स्वयंले लेखेका हुन्।

‘कार्साङ’ यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्म्सको प्रस्तुतिमा निर्माण गरिएको हो। चलचित्रमा बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, कविता आले, कर्मा शेर्पा, सभ्यदीप गौतम लगायत थुप्रै कलाकारको अभिनय रहेको छ।

चलचित्र पुस २६ गते बाट अलनेपाल प्रदर्शनमा आउने तयारीमा छ। यो चलचित्रले दर्शकलाई शेर्पा समुदायको कथा र सांस्कृतिक सौन्दर्यको नयाँ झलक दिने अपेक्षा गरिएको छ।