सुनसरी | इटहरीको सुनिश्चित महिला कृषि सहकारी संस्थाले आफ्नो १२ औं वार्षिक साधारणसभा भव्य रूपमा सम्पन्न गरेको छ। सभाको अध्यक्षता संस्थाकी अध्यक्ष सुभद्रा प्याकुरेलले गरेकी थिइन् भने कार्यक्रममा प्रमुख अतिथिका रूपमा पूर्व मन्त्री तथा संघीय सांसद भगवती चौधरी उपस्थित थिइन्।
साधारणसभामा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी, कक्षा १२ उत्तीर्ण गर्ने शेयर सदस्यका छोरी, ज्येष्ठ नागरिक, र एकल महिलाहरूलाई सम्मान गरियो। लेखा सुपरीवेक्षण समितिकी संयोजक विमला लुइँटेलले यस अवसरमा आर्थिक प्रतिवेदन प्रस्तुत गरिन्।
कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाकी अध्यक्ष सुभद्रा प्याकुरेलले सहकारीलाई थप अब्बल बनाउन नेतृत्व क्षमताको आवश्यकता रहेको बताइन्। सहकारीको काम र नामलाई समाजमा उदाहरणीय बनाउन उनले सबैको साथ र समर्पण आवश्यक रहेको उल्लेख गरिन्।
प्रमुख अतिथि भगवती चौधरीले सहकारी संस्थाको नामअनुसारको योगदानले समाजमा एक सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरिन्। उनले सहकारीलाई समृद्ध बनाउँदै अघि बढ्न सबैले सहकार्य गर्नुपर्ने धारणा राखिन्।
कार्यक्रममा संस्थाको आगामी योजना पनि प्रस्तुत गरियो। संस्थाले नमुना कृषि स्थापना गर्ने, कृषि सम्बन्धी तालिम सञ्चालन गर्न सम्बन्धित निकायहरूसँग समन्वय गर्ने, आधुनिक कृषि प्रणालीलाई प्रोत्साहन गर्ने, ऋणको सही सदुपयोगका लागि उद्यमशीलता तालिम सञ्चालन गर्ने, र शेयर पूँजी वृद्धिमा निरन्तरता दिने उद्देश्य राखेको छ।
वित्तीय हिसाबले, संस्थाले २०८१ असार मसान्तसम्म रु. ३१,०६,७९८ खुद नाफा आर्जन गरेको छ भने २०८० असार मसान्तसम्म रु. १६,०४,५०१ थियो। कार्यक्रमको समापनमा संस्थाले नयाँ कार्यसमिति गठन गरेको छ। हाल सहकारीमा ३२५ जना शेयर सदस्य रहेका छन्।
यस अवसरमा इटहरी वडा नं. २ का अध्यक्ष माधव कोइराला, प्रहरी, अन्य सहकारी संस्थाका प्रतिनिधि, र संस्थाका सदस्यहरूको उल्लेख्य उपस्थिति थियो।


