इटहरी / इटहरीमा दोस्रो पटक स्व. कृष्ण प्रसाद भट्टराई स्मृति गोल्डकप फुटबल प्रतियोगिता २०८१ आयोजना हुने भएको छ। द योङ ब्रदर्स क्लब, इटहरीको आयोजनामा र इटहरी उप-महानगरपालिकाको संयोजनमा माघ १९ गतेदेखि माघ २६ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ। कोशी प्रदेश खेलकुद विकास बोर्डको संरक्षकत्वमा हुने यस प्रतियोगिता जनता बहुमुखी क्याम्पसको खेल मैदानमा दिउँसो २ बजेबाट सुरु हुनेछ।
प्रतियोगिताका बारेमा क्लबका अध्यक्ष विजय सुब्बाले फुटबलको विकास र स्थानीय युवा प्रतिभालाई प्रोत्साहन गर्न यो प्रतियोगिता महत्वपूर्ण हुने बताउनुभयो। उहाँका अनुसार यस प्रतियोगिताले युवा पुस्तालाई खेलकुदतर्फ आकर्षित गर्दै उनीहरूलाई दुर्व्यसन र अन्य गलत क्रियाकलापबाट टाढा राख्नेछ।
प्रतियोगिताका विजेताले नगद रु. २,५०,००० र उपविजेताले रु. १,३०,००० प्राप्त गर्नेछन्। साथै, सर्वोकृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर, र सर्वाधिक गोलकर्ता प्रत्येकलाई रु. १०,००० प्रदान गरिनेछ। प्रत्येक खेलका म्यान अफ द म्याचले रु. ५,००० प्राप्त गर्नेछन्।
प्रतियोगिता सञ्चालनका लागि २२ लाख ५५ हजार रुपैयाँको अनुमानित बजेट निर्धारण गरिएको छ। यसमा खेल मैदान मर्मत, स्टेज निर्माण, उद्घाटन तथा समापन कार्यक्रम, खेल सामाग्री, पुरस्कार, ट्रफी, रेफ्री तथा खेलाडी भत्ता, प्राथमिक उपचार, र प्रचार-प्रसारसम्बन्धी खर्च समावेश गरिएको छ
अध्यक्ष सुब्बाका अनुसार, प्रतियोगिताले स्थानीय स्तरमा फुटबलको विकास गर्दै सामाजिक सद्भाव र भातृत्व प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।
प्रतियोगितामा कोशी प्रदेशका प्रमुख जिल्लाहरू सुनसरी, झापा, मोरङ, इलाम, तेह्रथुम, उदयपुर, ताप्लेजुङ, संखुवासभा, सिराहा र धनकुटाका फुटबल टोलीहरूको सहभागिता रहनेछ। उद्घाटन समारोह माघ १९ गते र समापन माघ २६ गते हुनेछ।


