सुनसरी — इटहरी उपमहानगरपालिका वडा नम्बर ९ मा रहेको मालिका बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष नवीन गिरिको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ९ का वडा अध्यक्ष जितेन्द्र थापा प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा संस्थाका अध्यक्ष गिरिले वार्षिक प्रतिवेदन तथा आगामी नीति र कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। साथै, लेखा समिति संयोजक रिता सापकोटाले लेखापरीक्षण प्रतिवेदन पेस गर्नुभयो। विनियम संशोधन प्रस्ताव भने सञ्चालक समिति सदस्य दीपक घिमिरेले प्रस्तुत गर्नुभएको थियो।

सभामा संस्थाको आर्थिक प्रतिवेदन पनि सार्वजनिक गरियो। २०८०/८१ मा संस्थाको शेयर पूँजी १ करोड ६८ लाख  रहेको छ । सहकारीमा हाल ६ सयभन्दा बढी शेयर सदस्य आबद्ध छन्।

संस्थाका अध्यक्ष नवीन गिरिले सहकारीलाई थप बलियो बनाउँदै सदस्यहरूको आर्थिक सशक्तिकरणमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा वडा अध्यक्ष थापाले मालिका बचत तथा ऋण सहकारी संस्थालाई इटहरीकै उत्कृष्ट सहकारीको रूपमा प्रशंसा गर्दै यसको निरन्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभयो।

सभामा ६ जना विशिष्ट व्यक्तिहरूलाई सम्मान गरिएको थियो। साथै, बचत संघ सुनसरीका वरिष्ठ उपाध्यक्ष प्रलाद दाहाल, संस्थापक अध्यक्ष लक्ष्मीप्रसाद भारती, डी.पी. पोखरेल एण्ड एसोसिएट्सका प्रोपाइटर दुर्गाप्रसाद पोखरेल, बसपार्क व्यवस्थापन समितिका अध्यक्ष काजी राई, समृद्धिशील आमा समूहकी अध्यक्ष सृजना सुवेदी, र अभियन्ता टोल विकास संस्थाका अध्यक्ष गोपाल घिमिरेलगायतका व्यक्तित्वहरूले शुभकामना मन्तव्य राख्नुभयो।1734604298481

कार्यक्रममा सहकारीका सञ्चालक समिति सदस्यहरू, सल्लाहकार सदस्यहरू, र विभिन्न टोल विकास संस्थाका पदाधिकारीहरूको उल्लेख्य उपस्थिति थियो। सभाले संस्थाको प्रगति र भावी योजनाको आधारशीला तय गर्दै आर्थिक र सामाजिक विकासमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ।