इटहरी | मानव वेचविखनको जोखिममा रहेका तथा प्रभावित महिलाहरुको जीवनस्तर सुधार गर्न माइती नेपाल इटहरीले विभिन्न सिपमूलक तालिम सञ्चालन गर्दै आइरहेको छ। महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि लक्षित गरी माइती नेपालले व्युटी पार्लर, सिलाई-कटाई लगायतका व्यावसायिक सिप प्रदान गर्ने कार्यक्रम सञ्चालन गरेको हो।
हालै मात्र सिलाई-कटाई तालिममा सहभागी पाँच महिलालाई एक विशेष कार्यक्रमको आयोजना गरी सिलाई मेसिन प्रदान गरिएको छ। महिलाहरुले सिकेको सिपलाई व्यवहारिक रुपमा प्रयोग गरी आयआर्जन गर्न सकून् भन्ने उद्देश्यले तालिमपछि आवश्यक उपकरणहरु उपलब्ध गराइएको हो। तालिममा सहभागी महिलाहरुले व्यावसायिक दक्षता हासिल गरी आत्मनिर्भर बन्ने अवसर प्राप्त गरेका छन्।
सिलाई-कटाई तालिम र व्युटी पार्लर तालिमको समापनका अवसरमा आयोजित प्रमाणपत्र वितरण कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित इटहरी उपमहानगरपालिकाका उपप्रमुख संगीताकुमारी चौधरीले सिलाई मेसिन वितरण गरिन्। कार्यक्रममा उनले सहभागी महिलाहरुलाई तालिमबाट प्राप्त सिपलाई व्यवहारमा उतारेर आर्थिक सशक्तीकरण गर्न आग्रह गरिन्।
कार्यक्रम माइती नेपाल मोरङका संयोजक विनोद पोखरेलको अध्यक्षता र माइती नेपाल इटहरीकी कार्यक्रम संयोजक सुनिता कार्कीको संयोजनमा सम्पन्न भएको थियो। कार्यक्रममा गैरसरकारी संस्था महासंघ सुनसरीका अध्यक्ष मेघराज न्यौपाने, इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारी लगायतका अतिथिहरुले मानव वेचविखन विरुद्ध सशक्तिकरणका कार्यक्रमहरुलाई थप प्रभावकारी बनाउने सुझाव दिए।
माइती नेपालले सञ्चालन गरेको तालिममा १५ जना महिलाहरु सहभागी भएका थिए। सहभागीहरुमध्ये धेरैजसो महिलाहरु आर्थिक समस्या तथा सामाजिक दुर्व्यवहारका कारण जोखिममा परेका थिए। माइती नेपालले यस्ता तालिमहरुमार्फत महिलाहरुको मनोबल बढाउनुका साथै उनीहरुलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन मद्दत गरिरहेको छ।
कार्यक्रमका अतिथिहरुले महिलाहरुले प्राप्त सिपलाई व्यवहारिक रूपमा उपयोग गरेर आयआर्जन गर्नु आवश्यक रहेकोमा जोड दिएका थिए। सहभागीहरुले यस प्रकारका तालिमहरुबाट धेरै फाइदा भएको र आफ्नो जीवनमा नयाँ अध्याय सुरु गर्न सहयोग पुगेको बताए।
यसरी, माइती नेपाल इटहरीले सञ्चालन गरिरहेको सिपमूलक तालिमहरु महिलाहरुको सशक्तीकरण र जीवनस्तर सुधारका लागि एक महत्वपूर्ण प्रयास हो, जसले दीर्घकालीन रूपमा समाजमा सकारात्मक परिवर्तन ल्याउन योगदान दिनेछ।


