मोरङ/ नेपाल खेलकुद महासंघ कोशी प्रदेश कमिटीले आफ्नो १३ औं विस्तारित बैठक बेतना सिमसारमा वनभोज कार्यक्रमसहित सम्पन्न गरेको छ। स्थानिय तहदेखि केन्द्रसम्म भौतिक पूर्वाधार, व्यवसायिकता, र प्रतिस्पर्धी खेलकुद गतिविधि हाम्रो आधार भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै खेलकुद क्षेत्रलाई समाजमा अभिभावकिय भुमिका निभाइरहेको नेपाल खेलकुद महासंघले १३ औं विस्तारित बैठक आयोजना गरेको हो ।
नेपाल खेलकुद महासंघ कोशी प्रदेश कमिटी अध्यक्ष राजकुमार थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतको प्रमुख अतिथ्यतामा भएको थियो भने प्रमुख वक्ताको रुपमा नेकपा एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले पार्टीभित्र र बाहिरबाट भइरहेको आक्रमणको प्रतिवाद गर्न सबै सदस्यहरुलाई आग्रह गर्दै, पार्टीको निर्णयको पालना नगर्ने सदस्यहरुलाई कारबाहीको चेतावनी दिनुभयो।
कोशी प्रदेशका विभिन्न जिल्लाबाट विस्तारित बैठकमा सहभागी हुन आएका खेलकुद महासंघका पदाधिकारी तथा सदस्यलाई सम्बोधन गर्दै नेपाल खेलकुद महासंघ केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतले संगठनमा बसेर जिम्मेवारी वहन नगर्ने सदस्यहरुलाई बिदा लिन आग्रह गर्दै योग्य र काम गर्न सक्ने व्यक्तिहरूलाई अवसर दिनुपर्ने कुरा जोड दिनुभयो। साथै, संगठनलाई थप प्रभावकारी बनाउन सबैले जिम्मेवारीपूर्वक योगदान गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
बैठकले कोशी प्रदेशको खेलकुद क्षेत्रको विकासका लागि रणनीतिक योजना बनाउने र संगठनलाई अझ सुदृढ बनाउने बताउदैं कोशी प्रदेश अध्यक्ष राजकुमार थापाले बताउनुभयो।


