इटहरी | नेपाल जेसीजको ४९औँ राष्ट्रिय महाधिवेशन शनिवारदेखि इटहरीमा सुरु भएको छ। महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल जेसीजले मानवता, शिष्टता, विवेक र सभ्यता जस्ता मुल्य र मान्यताहरूलाई अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेलिरहेको भन्दै प्रशंसा गरे। उनले भने, "जेसीजले मर्यादा सिकाउने महान् कार्य गर्दै आएको छ।"
महाधिवेशनको उद्घाटन समारोहमा ओलीले राष्ट्रिय राजनीतिको विषयलाई धेरै नछुँदीकन देशले गरेको प्रगतिका विभिन्न पक्षमाथि चर्चा गरे। उनले विगतको तुलनामा देशको विकास उल्लेखनीय भएको बताउँदै रोजगारी र सञ्चार क्षेत्रमा भएको फड्कोलाई विशेष रूपमा स्मरण गरे। ओलीले भने, "विगतको टेलिफोनको अवस्थासँग अहिलेको सञ्चार प्रविधिको तुलना गर्न सकिँदैन। यसले देशले गरेको प्रगतिलाई प्रमाणित गर्छ।"
कार्यक्रमका क्रममा प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनले पृथ्वी र मानव जातिमा पारेको खतराबारे चिन्ता व्यक्त गरे। उनले भने, "जलवायु परिवर्तनका कारण पृथ्वी र मानवजाति संकटमा छन्। यस अवस्थामा 'प्लानेट र पिपुल' को रक्षा जरुरी छ।" उनले मानव हित र संरक्षणका लागि नेपाल जेसीजले पुर्याएको योगदानको पनि प्रशंसा गरे।
प्रधानमन्त्री ओलीले कार्यक्रममा राष्ट्रिय राजनीति र आगामी योजनाका केही पक्षलाई पनि छोडेनन्। उनले देउवा नेतृत्वको सरकारप्रति इङ्गित गर्दै आगामी डेढ वर्षपछि देउवा नै प्रधानमन्त्री बन्ने उल्लेख गरे। तर उनले यस विषयमा विस्तृत रूपमा चर्चा गरेनन्।
इटहरीमा जारी महाधिवेशनमा नेपाल जेसीजका प्रतिनिधिहरू सहभागी भइसकेका छन्। महाधिवेशनमा नयाँ नेतृत्व चयनको तयारी भइरहेको छ। तीन दिनसम्म चल्ने यो महाधिवेशनले जेसीजका भावी योजनाहरू तय गर्ने अपेक्षा गरिएको छ।
महाधिवेशनले नेपालका विभिन्न सामाजिक र व्यावसायिक क्षेत्रमा योगदान दिने युवा नेतृत्वको मार्गचित्र प्रस्तुत गर्दै समाजलाई सकारात्मक दिशामा लैजाने आशा गरिएको छ। सोमवारसम्म चल्ने यस महाधिवेशनले नयाँ नेतृत्व चयनसँगै आगामी कार्यक्रमहरूको खाका पनि तयार गर्नेछ।
कार्यक्रम तालिका अन्तर्गत प्रकरण गोष्ठी, शान्ति पदयात्रा, वक्तित्वकला, पूर्व अध्यक्षहरूको ब्याडमिन्टन प्रतियोगिता र नेपाल जेसीजको वार्षिक साधारणसभा सम्पन्न हुनेछ ।
खासगरी कोशी प्रदेश सरकारले घोषणा गरेको ‘पर्यटन वर्ष २०८२’ लाई यो महाधिवेशनले प्रबद्र्धनसमेत गर्ने वर्ष २०२४ का अध्यक्ष सुवेको उनको विश्वास छ । स्थानीय पर्यटन र व्यापार प्रबद्र्धनका निम्ति हामीले ५० वटा स्टलसमेत राख्ने तयारी गरेको इटहरी जेसीज वर्ष २०२४ का अध्यक्ष सुमन सुवेदीले बताउनु भयो ।
महाधिवेशनका लागि कोशी प्रदेश सरकारले अभिभाकत्व ग्रहण गरेको छ भने इटहरी उपमानगरपालिका संरक्षण रहेको महाधिवेशनका लागि सुनसरीसहित मोरङका विभिन्न दुई सय वटा होटलको व्यवस्थापन गरिएको छ ।
महाधिवेशनमा करिब तीन करोड खर्च हुने अनुमान गरिएको छ । जसमा एक करोड भन्दा बढी रकम जेसीज सदस्यबाट सहभागी शुल्क लिइनेछ ।
अन्य रकम कोशी प्रदेश सरकार, इटहरी उपमहानगरपालिकासहित विभिन्न पालिका, स्थानीय व्यापारीहरू तथा स्टलबाट व्यवस्थापन गरिने तयारी गरिएको छ । महाधिवेशनमा कूल एक हजार दुई सय ४६ मतदाताले मताधिकार गर्नेछन् ।


