संखुवासभा | संखुवासभाको मादी नगरपालिका- ७ बाघामा दोस्रो ल्होसार कप–२०८१ पुरुष फुटबल प्रतियोगिता हुने भएको छ ।

तमु ल्होसारको अवसर पारेर नव सिर्जना प्रगतिशील युवा क्लबको आयोजनामा पौस ११ गते अर्थात भोली देखि दोस्रो  तमु ल्होसार कप–२०८१ पुरुष फुटबल प्रतियोगिता सुरु हुदैंछ । गुरुङ समुदायको विशेष पर्वको रुपमा रहेको तमु ल्होसार, पुर्वी पहाडी जिल्लाहरुमा, विभिन्न कार्यक्रम गरी, मनाइदै आएको छ । पहिलो वर्ष झै दोस्रो ल्होसार कप आयोजन गर्न लागेको क्लबका अध्यक्ष पासाङ दाखा शेर्पाले जानकारी दिनुभयो ।

  फुटबल  प्रतियोगिताको  प्रथम पुरस्कार १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद, ३ वर्षे रनिङ कप, ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ भने द्वितीय पुरस्कार ६६ हजार ६ सय ६६ रुपैयाँ नगद, २ वर्षे रनिङ कप, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । कार्यक्रमलाई विशेष बनाउँन  राष्ट्रिय स्तरका गायक अन्य कलाकारहरूको प्रस्तुति हुनेछ ।

तमु ल्होसारको अवसरमा खेलकुद र संस्कृतिको यो मिश्रणले समुदायमा एकताको सन्देश दिने र  प्रतियोगिताले स्थानीय प्रतिभा पहिचान गर्न सहयोग पुर्याउने क्लबका कोषाध्यक्ष दाछिरी शेर्पाले बताउनु भएको छ ।

५ दिन सम्म चल्ने प्रतियोगितामा सहभागी खेलाडीहरू, आगन्तुक पाहुना, सम्पूर्णलाई कार्यक्रममा सहभागी हुन आयोजकले अनुरोध गरेको छ । पौस १५ गते दोस्रो ल्होसार कप–२०८१ पुरुष फुटबल प्रतियोगिता समापन हुने छ ।