भोजपुर | भोजपुरको टेम्केडाँडा भ्रमणको क्रममा आज बिहान भोजपुरमा स्कर्पियो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।
भोजपुर नगरपालिका–५, बोखिमको डाँडाटोलमा प्रदेश १–०२–००२ च ६९२३ नम्बरको स्कर्पियो गाडी अनियन्त्रित भई करिब २५० मिटर तल खसेको थियो। दुर्घटनामा झापाको गौरादह नगरपालिका–७ का झम्कबहादुर घलेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
गाडीमा चालकसहित १० जना सवार रहेका थिए। गम्भीर घाइते भोजपुर नगरपालिका–५ की लाक्पादिकी शेर्पा, सोही वडाका रामकुमार राई, र सुनसरीको धरान उपमहानगरपालिका–२ की ईहायाराना सुब्बालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको छ। अन्य घाइतेहरूको भोजपुर अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


