भोजपुर | भोजपुरको पौवादुङमा गाउँपालिकामा माघ १ गतेदेखि ९ गतेसम्म दोस्रो पौवादुङमा गोल्ड कप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ। प्रतियोगिता गाउँपालिकाको आर्थिक व्यवस्थापनमा आयोजना गरिंदैछ।
गाउँपालिका अध्यक्ष किरण राईका अनुसार प्रतियोगिताले खेल क्षेत्रको विकाससँगै युवाहरूको शारीरिक र मानसिक विकासमा टेवा पुर्याउनेछ। साथै, यसले स्थानीय पर्यटन प्रवर्द्धनमा समेत योगदान दिने विश्वास लिइएको छ। “गाउँपालिकाको आर्थिक व्यवस्थापनमा हामीले यो प्रतियोगिता आयोजना गर्न लागेका हौं। यसले खेलकुद र पर्यटन दुवै क्षेत्रमा सकारात्मक प्रभाव पार्नेछ,” अध्यक्ष राईले बताउनुभयो।
आयोजनाका लागि पुस २० गतेभित्र सहभागी समूहहरूले दर्ता गर्नुपर्नेछ। प्रतियोगितामा नगरपालिका, गाउँपालिका, विभागीय टोली र आधिकारिक क्लबहरूको सहभागिता रहने आयोजक समिति अध्यक्ष चोलप्रसाद आलेले जानकारी दिनुभयो।
प्रतियोगितामा विजेता टोलीले नगद रु. ३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेता टोलीले नगद रु. २ लाख, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।
प्रतियोगिता पौवादुङमा गाउँपालिकाको रंगशालामा सञ्चालन हुनेछ। खेलकुदप्रेमीहरू र पर्यटकहरूका लागि यो प्रतियोगिता विशेष आकर्षण बन्ने अपेक्षा गरिएको छ।


