इटहरी | इटहरीको डिभिएम स्कुलको खेल मैदानमा सम्पन्न प्रथम कस्तुरी क्रिकेट प्रतियोगिताको उपाधि शिक्षादीप एकेडेमीले जितेको छ। फाइनल खेलमा सुषमा सेकेन्डरी स्कुललाई सहजै पराजित गर्दै शिक्षादीपले उपाधि आफ्नो पक्षमा पारेको हो।
फाइनल खेलमा टस जितेर पहिलो ब्याटिङ रोजेको सुषमा सेकेन्डरी स्कुलले १० ओभरमा १०५ रन बनायो। १०६ रनको लक्ष्य पछ्याउने क्रममा शिक्षादीपका प्रमुल बस्नेत र अपर्ण अधिकारीले अविजित ४९-४९ रन बनाए। ५.१ ओभरमै लक्ष्य पूरा गर्दै शिक्षादीपले खेल जित्यो। तीन विकेट लिँदै ४९ रन बनाएका अपर्ण अधिकारी फाइनल खेलका म्यान अफ द म्याच घोषित भए।
तेस्रो स्थानमा सारदा माध्यमिक विद्यालय खनारले कब्जा जमायो। सारदाका हेमराज माझीले प्रतियोगितामा सर्वाधिक क्याच लिएर मोस्ट क्याचेसको उपाधि प्राप्त गरे।
पुस ७ गतेदेखि सुरु भएको प्रतियोगितामा इटहरी उपमहानगर क्षेत्रका २ सामुदायिक विद्यालयसहित २६ विद्यालयले सहभागिता जनाएका थिए। प्रतियोगिता अन्तर्गत अपर्ण अधिकारी म्यान अफ द सिरिज, प्रमुल बस्नेत उत्कृष्ट ब्याट्सम्यान, अभिषेक अधिकारी उत्कृष्ट बलर र हेमराज माझी मोस्ट क्याचेस घोषित भए।
विजयी विद्यालय र खेलाडीहरूलाई कस्तुरी एकेडेमीका अध्यक्ष रामचन्द्र अधिकारी र प्रिन्सिपल कमलेश शर्मा पौडेलले पुरस्कार वितरण गरे। सोही कार्यक्रममा इटहरीमा क्रिकेट खेलको सुरुवात गर्न २०४३ सालमा स्थापित इटहरी क्रिकेट टिमका सदस्यहरू सञ्जीव ढुगाना, कमलेश पौडेल, विनोद देवान, पवन खेडिया, र प्रदीप रेग्मीलाई इटहरीमा क्रिकेट विकासमा योगदान दिएकोमा सम्मान गरिएको थियो।
यो प्रतियोगिताले इटहरीमा क्रिकेट खेलको महत्व र विकासमा थप ऊर्जा प्रदान गरेको छ।


