विराटनगर - राष्ट्रिय तेक्वान्दो संघ केन्द्रीय समितिको आयोजनामा र कोशी प्रदेश तेक्वान्दो संघको सहकार्यमा विराटनगरस्थित सहिद रंगशालामा दुई दिने ६ नेशन्ल तेक्वान्दो केरोगि रेफरी सेमिनार र ५ नेशन्ल तेक्वन्दो केरोगि रेफरी रिफ्रेस कोष तथा ४ नेशन्ल तेक्वान्दो  पुम्से रेफरी सेमिनार र ३ नेशन्ल तेक्वन्दो पुम्से रेफरी रिफ्रेस कोष सव्य रूपमा सम्पन्न भएको छ। माघ १२ र १३ गतेसम्म सञ्चालन भएको यो कार्यक्रममा २५ जना प्रशिक्षित रेफरीहरूले सहभागिता जनाएका थिए।

कार्यक्रमको उद्घाटनमा प्रमुख अतिथि राष्ट्रिय तेक्वान्दो संघका केन्द्रीय अध्यक्ष   महेश्वर फुयालले तेक्वान्दो खेललाई व्यवस्थित, व्यावसायिक, र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बनाउने लक्ष्यसहित यस्ता तालिम आयोजना गरिएको बताए। उहाँले रेफरीहरूको ज्ञान र सीप अद्यावधिक गर्ने उद्देश्यले संघले निरन्तर यस्तो प्रकारका कार्यक्रमहरू सञ्चालन गर्दै आएको जानकारी दिनुभयो।

यस दुई दिने तालिममा २०२४ मा लागू हुने नयाँ नियमहरूलाई प्राथमिकता दिइएको थियो। प्रशिक्षकहरूले खेलका नवीनतम नियमहरूको प्रयोगात्मक तथा सैद्धान्तिक पक्षबारे सहभागीहरूलाई व्यापक जानकारी गराए। तालिममा सहभागीहरूले पुम्से प्रदर्शन र मूल्यांकनमा ध्यान दिने तरिकाहरू सिक्नका साथै खेलाडी र रेफरीहरूबीचको समन्वय कसरी मजबुत बनाउन सकिन्छ भन्नेबारे प्रशिक्षण पाए।

कार्यक्रमको समापन राष्ट्रिय  तेक्वान्दो संघका  कोशी प्रदेश सदस्य श्री अजून भुजेलको अध्यक्षतामा सम्पन्न भयो। समापन समारोहमा राष्ट्रिय तेक्वान्दो संघका महा सचिव  श्री राकेश कुमार राई तथा विभिन्नजिल्लाका प्रतिनिधिहरूले पनि आ-आफ्नो धारण राख्नु भयो ।

समापन समारोहमा  अजून भुजेलले तेक्वान्दो खेललाई राष्ट्रिय स्तरमा अझ प्रभावकारी बनाउँदै लैजान यस्ता तालिमले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। साथै, उहाँले सहभागी प्रशिक्षकहरूलाई खेलको स्तरवृद्धि गर्न प्रतिवद्ध रहन आग्रह गर्नुभयो।

यो कार्यक्रम तेक्वान्दो खेलको विकास र व्यवस्थापनमा एक महत्वपूर्ण उपलब्धि साबित भएको छ। प्रशिक्षित रेफरीहरूले यो तालिम अत्यन्त उपयोगी रहेको प्रतिक्रिया दिएका छन्। राष्ट्रिय तेक्वान्दो संघले आगामी दिनमा यस्ता कार्यक्रमलाई थप व्यापक बनाउँदै लैजाने योजना बनाएको छ।