इटहरी  ।  जन्तेढुङ्गा गाउँपालिका–३ काहुलेमा गरिब, दलित र असहाय बालबालिकालाई लक्षित गरेर निःशुल्क आवासीय शिक्षाका लागि विद्यालय सञ्चालनमा ल्याइएको छ । पहिलो चरणमा गाउँपालिकाभरिका १९ जना बालबालिका भर्ना गरेर आवाससहितको निःशुल्क शिक्षा उपलब्ध गराउन काहुलेस्थित लक्ष्मी माध्यमिक विद्यालयलाई आवासीय विद्यालय बनाइएको हो । गाउँपालिकाभित्रका गरिब, दलित र असह्य बालबालिकालाई शिक्षाको उज्यालो घामबाट वञ्चित हुन नदिन आवासीय विद्यालय सञ्चालन गरिएको गाउँपालिका प्रमुख अरुणादेवी राई ‘दीक्षा’ले जानकारी दिनुभयो । कक्षा १० सम्म पठनपाठन हुने उक्त विद्यालयमा सञ्चालन गरिएको आवाससहितको निःशुल्क शिक्षा कार्यक्रमका लागि दुईजना शिक्षक तथा एकजना कर्मचारी व्यवस्थापन गरिएको गाउँपालिकाले जनाएको छ । विद्यालयमा खटिएका शिक्षक तथा कर्मचारीले चौबिसै घण्टा बालबालिकाको रेखदेख तथा अध्यापनको काम गर्ने गाउँपालिकाका उपप्रमुख खेमबहादुर खड्काले जानकारी दिनुभयो । तत्कालका लागि विद्यालयकै एउटा भवनमा सञ्चालित निःशुल्क आवासीय विद्यालय कार्यक्रमको औपचारिक उद्घाटन प्रतिनिधिसभा सदस्य एवम् कोशी प्रदेश सरकारका पूर्वऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री रामकुमार राई ‘पासाङ’ले गर्नुभयो । गाउँपालिकाको लगानीमा गरिब, दलित र असह्य बालबालिकालाई लक्षित गरेर निःशुल्क आवासीय विद्यालय सञ्चालन भएपछि खर्च अभावका कारण पढाइ छाड्नुपर्ने अवस्थाका विद्यार्थीहरू लाभान्वित हुने अपेक्षा गरिएको छ । पहिलो चरणमा कक्षा १ देखि १० सम्म सञ्चालन गरिएको निःशुल्क आवासीय शिक्षा कार्यक्रमलाई प्रभावकारिताका आधारमा थप गर्ने योजना बनाइएको गाउँपालिकाले जनाएको छ । शैक्षिकसत्रको सुरुबाटै सञ्चालन गरिएको निःशुल्क आवासीय शिक्षा कार्यक्रममा १५ जना छात्र र चारजना छात्रा सहभागी भएका छन् । आवासीय विद्यालयमा अध्ययन गर्न चाहने अन्य विद्यार्थीले वार्षिक रु ४० हजार उपलब्ध गराएको खण्डमा उनीहरूलाई समेत भर्ना गरेर सहभागी गराउन सकिने गाउँपालिकाले जनाएको छ । विसं २०१४ मा स्थापना भएको उक्त विद्यालयमा दुई सय ६५ जना विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक कृष्णबहादुर राईले जानकारी दिनुभयो । 

नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का पोलिटब्यूरो सदस्यसमेत रहनुभएका नेता राईले मुलुकको शैक्षिक गुणस्तर सुधारका लागि सामुदायिक विद्यालयहरूलाई आवासीय विद्यालयका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । प्रतिनिधिसभामा विचाराधीन अवस्थामा रहेको शिक्षा विधेयकमा आफूले सामुदायिक विद्यालयलाई पूर्ण आवासीय बनाउनुपर्ने प्रस्तावसमेत पेस गरेको सदस्य राईले जानकारी दिनुभयो । सामुदायिक विद्यालयमा राज्यको यति ठूलो लगानी भएर पनि खस्कँदै गएको शिक्षा क्षेत्रको गुणस्तर सुधारका लागि वर्तमान सरकारले बेलैमा ध्यान दिनुपर्नेमा सदस्य राईले जोड दिनुभयो । उद्घाटन कार्यक्रमलाई पूर्ववन तथा वातावरण राज्यमन्त्री शिवकुमार बस्नेत, प्रदेशसभा सदस्य एवम् सार्वजनिक लेखा समितिका सभापति राजन किराती ‘बासु’ लगायतले सम्बोधन गर्नुभएको थियो । जिल्लाको दक्षिण क्षेत्रमा पर्ने जन्तेढुङ्गा गाउँपालिकाले काहुलेमा सञ्चालन गरेको निःशुल्क आवासीय शिक्षा कार्यक्रम जिल्लामै पहिलो हो । शिक्षा क्षेत्रको सुधारमा लागिपरेको उक्त गाउँपालिकाले दुई वर्षदेखि छजना छात्रछात्रालाई बाली विज्ञान विषयमा अध्यापन गराइरहेको छ । आफ्नो अध्ययन पूरा गरेपछि गाउँपालिकामै फर्किएर काम गर्ने सर्तमा छजना छात्रछात्रालाई छात्रवृत्ति उपलब्ध गराइएको गाउँपालिका प्रमुख राईले जानकारी दिनुभयो ।