इटहरी । इटहरीमा भेटिएको शंकास्पद वस्तु प्रेसर कुकर रहेको पुष्टि भएको छ । इटहरी उपमहानगरअघि फेला परेको शंकास्पद वस्तु प्रेसर कुकर रहेको पुष्टि भएको हो । नेपाली सेनाको काली शक्ति गणबाट आएको बम डिस्पोजल टोलीले डिस्पोज गर्ने क्रममा प्रेसर कुकर फेला पारेको छ । उक्त कुकरभित्र राष्ट्रिय सुरक्षा दल लेखिएको पर्चा भेटिएको छ । इटहरी उपमहानगरपालिका कार्यालयको गेट नजिकै, सुनसरी र मोरङको सिमानामा पर्ने बूढी खोलाको पुल नजिकै र धरानको भोटे पुल नजिकै शंकास्पद बस्तु फेला परेको प्रहरीलाई सूचना आएको सुनसरी प्रहरी प्रमुख, एसपी सुमन तिम्सिनाले जानकारी दिए । उक्त घटनाबारे सुक्ष्म ढंगबाट अनुसन्धान सुरू गरिएको प्रहरीको भनाइ छ ।


