इटहरी । मोरङको पथरीशनिश्चरे– ०१ को सुनाखरी माविले विभिन्न व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कार वितरण गर्दै बार्षिक उत्सव मनाएको छ । बिहीबार उक्त विद्यालयले आफ्नो ३२ औं वार्षिकोत्सव भव्यताका साथ मनाएको हो । कार्यक्रममा विद्यालयका पूर्व शिक्षकहरु सिर्जना राई, चन्द्रकला भण्डारी, युबराज साप्कोटा, अमरसिंह लिम्बू, राजेन्द्र दाहाललाई सम्मान पत्रले सम्मान गरिएको थियो । लामो समयसम्म विद्यालयमा अध्यापन गराई अवकाश भएका शिक्षकहरु ऋद्धि बहादुर काफ्ले , लक्ष्मीदेवि भण्डारी पनि सम्मानित हुनु भएको थियो। सोही अवसरमा उक्त विद्यालयमा कार्यरत शिक्षक पिताम्बर घिमिरे उत्कृष्ट शिक्षकको रुपमा सम्मानित हुनुभएका थियो भने पूर्ब प्रधानाध्यापक नरेन्द्र घिसिङ, सहायक प्रधानाध्यापक तारानिधि तिम्सिना, बलराम तिम्सिना, मनमाया मगर र सुनिता भट्टराईलाई समेत विद्यालयले सम्मान गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदिपकुमार राईको अध्यक्षतामा भएको कार्यक्रममा सम्मानित शिक्षकहरुलाई कार्यक्रमको प्रमुख अतिथि पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापो, नगरका शिक्षा, यूवा तथा खेलकूद शाखाका प्रमुख नवीन खुलाल, पञ्चायत माविका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकी र सोहि विद्यालयका व्यवस्थापन समिति अध्यक्ष युवराज बास्कोटा लगायतको हातबाट सम्मान प्रदान गरिएको थियो । बार्षिकोत्सवको अवसरमा आयोजित खेलकुदका बिजेता खेलाडीहरु तथा तहगत कक्षामा प्रथम, दोस्रो, तेस्रो हुने छात्र छात्रहरूलाई पनि पुरस्कार प्रदान गरिएको थियो । सोही क्रममा उत्कृष्ट विद्यार्थी अनुसा सुनाम लगायतलाई पुरस्कार प्रदान गरिएको प्रधानाध्यापक भूमिका देवि मगरले जानकारी दिनुभयो ।


