बराहक्षेत्र | नेपाल खेलकुद महासंघ बराहक्षेत्र नगर कमिटीको दोस्रो अधिवेशन सम्पन्न गर्दै भिम बहादुर बस्नेत पुनः अध्यक्षमा निर्वाचित भएका छन्।
बराहक्षेत्र नगर कमिटीको दोस्रो अधिवेशन नेकपा एमाले कोशी प्रदेश कमिटी सचिवालय सदस्य तथा सुनसरी क्षेत्र नं. १ (ख) का सभासद विजय राईको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। अधिवेशनले अध्यक्षमा भिम बहादुर बस्नेतलाई पुनः निर्वाचित गर्दै, उपाध्यक्षमा होमनाथ पराजुली र महिला उपाध्यक्षमा जुनु लिम्बुलाई चयन गर्यो। यसैगरी, सचिव रोहित शाह, उपसचिव सुमन लिम्बु र रामनारायण चौधरी, कोषाध्यक्ष नरेश राईसहित १७ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ।
अध्यक्ष बस्नेतले बराहक्षेत्रका सम्पूर्ण वडामा खेलकुद महासंघको गठन गरेर खेलकुदको वृद्धि र विकास गर्न, साथै क्षेत्रलाई सशक्त बनाउने योजना प्रस्तुत गर्नुभएको छ। पुनः अध्यक्ष पदमा निर्वाचित हुनु आफूमात्र नभई खेलकुद क्षेत्रकै जित भएको बताउँदै उहाँले खेलकुद क्षेत्रको विकासमा योगदान गर्ने प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रमका प्रमुख अतिथि विजय राईले खेलकुद क्षेत्रको सुदृढीकरण र समग्र युवा सशक्तीकरणका लागि महासंघको भूमिकालाई महत्वपूर्ण मान्दै यस क्षेत्रमा उत्कृष्ट योगदान दिन प्रतिवद्धता व्यक्त गर्नुभयो।
अधिवेशनमा नेपाल खेलकुद महासंघ सुनसरी संयोजक बिकल पौडेल, इन्चार्ज भेसराज कार्की, नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य योग्यराज खड्का, सुनसरी जिल्ला सचिव रामबहादुर कोइराला लगायतका नेताहरूले शुभकामना व्यक्त गरेका थिए।
नेपाल खेलकुद महासंघ बराहक्षेत्र नगर कमिटीको यो अधिवेशनले स्थानीय खेलाडी र खेलकुद प्रेमीहरूलाई नयाँ उर्जा प्रदान गर्ने अपेक्षा गरिएको छ।



