संखुवासभा | संखुवासभाको धर्मवेदि नगरपालिका–९ मा रहेको महेन्द्र ज्योति माध्यमिक विद्यालयले शिक्षक, विद्यार्थी, र अभिभावकबीच सहकार्य सुदृढ गर्न शिक्षण र सिकाइमा सुधार ल्याउन अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रमको उद्देश्य विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नुपर्ने विषयमा सबै पक्षको ध्यानाकर्षण गराउनु हो । अभिभावकहरुले विद्यालयमा इङ्लिश मिडियममा पढाइ भए पनि सिकाइ स्तर चित्तबुझ्दो नभएको र शिक्षकले मात्र विद्यार्थीलाई दोष दिनु नहुने बताएका छन् । शैक्षिक गुणस्तर पहिलाको तुलनामा खस्किएको र यसको खोजी गर्न अभिभावकले चासो देखाउनुपर्ने ९ वडा अध्यक्ष चित्र कुमार कार्कीले बताए ।
शिक्षक, अभिभावक, र व्यवस्थापन समितिबीच नियमित अन्तरक्रिया आवश्यक रहेको र नगर सरकारले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि सकारात्मक सोच राखेको र दीर्घकालीन योजना आवश्यक रहेको नगर प्रमुख उदय चन्द्र पौडेलले बताउनु भएको छ । स्थायी शिक्षकको अभाव रहेको तर विगतमा विद्यालयले निकै प्रगति गरेको जानकारी दिदैे विद्यार्थीको शारीरिक, मानसिक र संज्ञानात्मक विकासका लागि विद्यालय र अभिभावक, स्थानिय सरोकारकोे समान भूमिका आवश्यक रहेको विद्यालयका प्रधानाध्यापक राजेन्द्र खत्रीले बताएका छन् ।
कार्यक्रममा नगर प्रमुख उदय चन्द्र पौडेल, प्रमुख प्रशासकीय अधिकृत प्रयास भट्टराई, शिक्षा शाखा प्रमुख पदम बस्नेत, लेखा शाखा प्रमुख राजेश गिरी, वडा अध्यक्ष चित्र कुमार कार्की, विद्यालय व्यवस्थापन समिति अध्यक्ष पुष्प बहादुर खत्री, शिक्षक, विद्यार्थी, र अभिभावकहरूको उपस्थिति रहेको थियो ।

