इटहरी । धनकुटाका किसानहरुले खोरेत रोग नियन्त्रणका लागि नियमित खोप कार्यक्रम सञ्चालन गर्न र प्राविधिक सहयोग बढाउन माग गरेका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनकुटाको आयोजनामा भएको जिल्ला स्तरीय खोरेत रोग नियन्त्रण रणनीति कार्यान्वयन सम्बन्धी स्थानीय सरोकारवालाहरूसँग छलफल कार्यक्रममा किसानले प्रभावकारी ढंगले काम गर्नुपर्ने बताएका हुन् । कार्यक्रममा सहभागि धनकुटा नगरपालिकाका कृषक रामकुमारी राईले कृषकले अपेक्षा गरे अनुसार कार्यक्रम नपाएको र किसानको घरघरमा खोरेत नियन्त्रणको अभियान चाल्नुपर्ने बताउनु भयो । उहाँले वास्तविक किसानले अनुदान नपाएको हुदा त्यसलाई ध्यान दिन आग्रह गर्नुभयो । यस्तै महालक्ष्मी नगरपालिकाका कृषक युवराज थापाले १२÷१५ वटा पशुचौपाय खोरेत रोगले गुमाएको बताउँदै कृषकका लागि हेर्ने निकाय नभएको गुनासो गर्नुभयो । उहाँले उत्पादन गरेका दुग्धजन्य बस्तुको उचित मूल्य नपाएको र जिरो प्रतिशत ब्याजमा ऋण पाउने व्यवस्था मिलाउन माग गर्नुभयो । उहाँले चर्को व्याजले गर्दा किसान मारमा परेका गुनासो गर्नुभयो । नेपालमा खोरेत रोग लागेका कारण दुधजन्य पदार्थ बिक्रिमा समस्या रहेको किसानको भनाइ छ । कार्यक्रममा पशुपंक्षी तथा मस्य विकास निर्देशनालय विराटनगरका वरिष्ठ पशु विकास अधिकृत गंगाराम यादबले आगामी २०३० साल सम्ममा खोरेत नियन्त्रण हुने बताउनु भयो। उहाँले खोरेत रोगबाट नेपालमा वार्षिक ६ दशमलब ४४ अर्ब क्षति हुने गरेको बताउँदै वार्षिक ३२ प्रतिशत दुग्ध जन्य बस्तुको उत्पादन घाटा हुदा अन्तर्राष्ट्रिय देशमा दुग्ध जन्य बस्तुको व्यापार समस्या भएको बताउनु भयो । यादबले खोरेत नियन्त्रणमा संघ, प्रदेश र स्थानीय सरकारले नै कार्यक्रम तयार गरि लागिपरेको बताउनु भयो । उहाँले खोरेत रोग नियन्त्रणका लागि समयमै खोप लगाउने, जैविक सुरक्षाका उपायहरु अपनाउने र रोग देखिएमा तत्काल नजिकैको पशु चिकित्सकलाई खबर गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा जिल्लाभरिका पशुपालक किसान, पशु चिकित्सक, स्थानीय जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।